तुलसीपुर, असार ५ । दाङको तुलसीपुरमा बाटो खन्ने क्रममा कसौडीमा गाडेको अवस्थमा फेला परेका ऐतिहासिक सिक्काहरु पुरातत्व बिभागको जिम्मा लगवाइने भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सबै कानुनी प्रक्रिया पुरा गरि फेला परेका सिक्काहरु पुरातत्व बिभागलाई बुझाउने फरककोणलाई बताए ।
त्यसका लागि पुरातत्व बिभागका मानिसहरु प्राप्त सिक्काहरु परीक्षणका लागि दाङ आउने भएका छन् ।
ऐतिहासिक सिक्काहरु फेला परेको हुँदा त्यो राष्ट्रिय सम्पत्ति हुने एसपी काफ्लेले बताए ।
गत बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै बाटोको नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा राखेर गाडेको अवस्थामा ऐतिहासिक चाँदीका सिक्काहरु जेसिबी चालक सुवाशचन्द्र चौधरीले फेला पारेका थिए । त्यसपछि उनले ती सिक्काहरु तुलसीपुर – १५ मलवारस्थित आफ्नो घरमा लगेर लुकाई छिपाई राखेका थ्एि । सुराकका आधारमा प्रहरीले घरमै पुगेर शनिबार ती सिक्काहरु पोलेथिनमा राखेको अवस्थमा फेला पारि ल्याएको थियो ।
कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचिन शिक्का मध्य ७६ वटा भारतीय सिक्का छन् ।