२०८२ चैत्र १ गते आइतवार

कपुरकोटमा १६५ सुत्केरी तथा गर्भबतिलाई ४१६ वटा कुखुरा निशुल्क वितरण

शंकर केसी, सल्यान, असार २ । सल्यानको कपुरकोटमा १६५ जना गर्भवति र सुत्केरी महिलालाई निशुल्क कुखुरा वितरण गरिएको छ ।

मासु र अण्डाको प्रयोगबाट वालवालिकामा हुन सक्ने कुपोषण न्यूनिकरणमा सहयोग पुगोस भनेर गाउँपालिकाले बुधबार सुनौलो एक हजार दिनभित्रका महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । वहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत एक लाख पचास हजार रुपैंयामा कुखुरा वितरण गरिएको हो ।

न्यू हेम्पसायर र अष्ट्रोलोप जातको ४१६ वटा कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखाले जनाएको छ । वडा नम्बर १, २, ३ र ४ मा २०÷२० जना महिलालाई तथा वडा नं ५ र ६ मा २९÷२९ जनालाई प्रतिव्यक्ति ३ वटा कुखुराको दरले कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् । न्यू हेम्पसायरले वर्षमा २८० दिन र अष्ट्रोलोप कुखुराले वर्षमा २६० दिन अण्डा दिने भण्डारीले बताइन ।

कुखुरा वितरण गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले सबैले पोषणको महत्व बुझ्नुपर्ने बताए । बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषणमा जोड दिन उनले सुझाए ।

राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी हुर्कन सक्ने, समुदायमा सहभागी हुन र योगदान दिन र अन्य संकटहरूसंग लड्न समर्थ हुने भएकाले पोषण स्थिति सुधार गर्न सबैको सक्रियता आवश्यक रहेको पुनले बताए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गर्भवति महिला, शिशु तथा बालबालिकाहरुलाई राम्रोसँग पोषिलो खाना खुवाउन तथा पोषणसम्बन्धि ज्ञान र ब्यवहारलाई अझ सवल र सहि बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप खड्का, वडा नं ५ का वडा अध्यक्ष होमबहादुर खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण वोहरा लगाएतको सहभगिता थियो ।

कार्यक्रममा स्वास्थ्य संयोजक अरुण दाहालले पोषणको महत्व, वहु क्षेत्रीय पोषण कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमको सहजीकरण नायव पशु सेवा प्राविधिक अविकिरण डिसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *