तुलसीपुर, असार १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौंरास्थित कमल पोखरी चिटिक्क बन्दै छ ।
ताल पुनः निर्माणको काम युएसएआइडीको तयार नेपाल – बिपद जोखिम परियोजनाको भ्याटसहित ८० लाख ५ हजार ६ सय १ रुपैंया निर्माण भइरहेको हो ।
आगलागी जस्ता बिपदको समयमा दमकलहरुलाई पानी भर्न सहज होस भन्ने उदेश्यले यो ताल पुनः निर्माण गर्न लागिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का यसअघिका वडाध्यक्ष नबराज लामिछानेको पालमा कमल पोखरी निर्माण गर्नका लागि नगरको तर्फबाट प्रप्रोजल पेश भएको थियो ।
त्यो प्रपोजल पारित भएपछि ताल पुनः निर्माणको काम सुरु भएको हो । तालको लगभग ९५ प्रतिसत निर्माण कार्य पुरा भएको निर्माणको काम गरिरहेको वशन्त खड्काले जानकारी दिए । ताल पुनः निर्माणको जिम्मा लोकमणि बिल्डर्सले पाएको भएपनि प्रतिनिधिका रुपमा खड्काले ताल पुनः निर्माणको काम गरिरहेका छन् ।
९ मार्च २०२२ मा भएको सम्झौता अनुसार काम ९ जुन २०२२ मा पुरा गरिसक्नु पर्ने भएपनि थप १५ दिन म्याद थपिएको छ ।
निर्माणको काम गरिरहेका खड्काले १७६ मिटर क्षेत्रफल पानीको भाग रहने गरि निर्माण गरिएको जानकारी दिए ।
आयोजनाका प्राबिधिक इञ्जिनियर कमल थापाले नाम अनुसार पोखरी सकभर कमलको पात आकारमा बनाउन प्रयास भएको बताए । वरिपरी चार मिटर उचाइको १७६ मिटर लामो पर्खाल निर्माण गरिएको थापाले जानकारी दिए । त्यो पर्खाल भन्दा भित्र पानी भण्डार गर्न सहज होस भनेर साढे तीन फिट अग्लो पक्की वाल निर्माण गरिएको छ ।
ती दुई वालमा बीचमा मानिस मनोरञ्जलका लागि हिड् डुल गर्न मिल्ने सडक निर्माण गरिएको छ । यसबाहेक लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयबाट पनि यसमा बजेट परेको छ । पर्यटन बोर्डले तालको बीचमा कमलको स्वरुपको आकृर्ती निर्माण गर्ने भएको छ ।पर्यटन बोर्डले नै तालको बीच भाग खनेर थप ५० सेन्टिमिटर गहिरो बनाउन लागेको हुँदा ताल निर्माणको काम समयमै नसकिएको हो । अगाडि भागमा ताल खनि सकेपछि सिढी निर्माण गरिने भएको छ ।
ताल पुनः निर्माण कार्य पुरा भएमा तुलसीपुरको सुन्दरता र महत्व थप बढेर जाने छ । तुलसीपुरको आन्तरिक पर्यटनमा टेवा पुग्ने छ । तुलसीपुर बजार नजिकै यो बाहेक अरु कुनैपनि यस्ता सार्वजनिक पोखरी छैनन् ।
यसअघिसम्म यो पोखरीमा बजार क्षेत्रबाट कुला मार्फत बगेर आउने प्लाष्टिक तथा फोहरले भरिएको हुन्थ्यो । अब भने त्यसरी फोहर जम्मा हुन नपाउने हुँदा ताल सुन्दर बन्ने आशा बढेको छ ।