लक्ष्मण बस्नेत
तुलसीपुर, २६ माघ ।
दाङ तुलसीपुर अरनिको मैदानमा आइतबारबाट सुरु हुने राजकुमार स्मृति इन्टरस्कुल टि–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी कार्य पूरा भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको संयुक्त आयोजनामा क्लवका संस्थापक अध्यक्ष स्वर्गीय राजकुमार श्रेष्ठको स्मृतिमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन आइतबार बिहान ११ बजे हुनेछ । उद्घाटन खेलमा चन्द्रोदय विद्याकुञ्ज जसपुर र गोरखा मावि तुलसीपुर भिड्ने छन् ।
आयोजकले शनिबार रिपोर्टर्स क्लव नेपाल दाङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । प्रतियोगिता उद्घाटन समारोहमा नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन सम्मानित अतिथिको रुपमा कार्यक्रममा आउने तय भएको छ । विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय गरी १२ टिमको सहभागिता रहेको छ ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ३० हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद २० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उक्त अवसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्येबाट वेष्ट ब्याट्सम्यान, वेष्ट बलर, वेष्ट फिल्डर, म्यान अफ द सिरिज, राईजिङ प्लेयरलगायतका विधामा पुरस्कृत गरिने आयोजक रोट्रयाक्ट क्लवका अध्यक्ष रुपेश शर्माले जानकारी दिए ।