२०८३ साउन १ गते शुक्रवार

सङ्घीय र प्रदेश सभा चुनाव मङ्सिर पहिलो हप्तासम्म हुनसक्ने

काठमाण्डौ,जेठ ३१ । निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो हप्तासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ ।

आज मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो हप्तासम्म गर्ने गरेर आन्तरिक तयारी थालेको बताएका हुन ।

प्रवक्ता पौडेलले आयोगले निर्वाचन कानुनअनुसार दिएको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘आयोग एकै चरणमा चुनाव हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा चुनाव गर्दा मङ्सिरको पहिलो हप्तासम्म गर्ने गरी आन्तरिक तयारी गरेको छ ।’

यस्तै आयोगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने भएको छ ।
प्रवक्ता पौडेलले असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताए ।

उनले अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिनेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *