तुलसीपुर, जेठ ३० । दाङको तुलसीपुरमा डेडिकेट साइकल लेन निर्माण गरिएको छ ।
जिल्लामा यात्रुका लागि भनेर छुट्टै साइकल लेन निर्माण गरिएको यो नै पहिलो पटक हो ।
यस भन्दा पहिले काठमाडौं, ललितपुर, पोखरा जस्ता सहरहरुमा पनि साइकल चढ्नेहरुका लागि अलग्गै लेनहरु निर्माण भइ सकेका छन् ।
यो संगै दाङको तुलसीपुर पश्चिम नेपालमा तुलसीपुर साइकल चालकका लागि डेडिकेट लेन बनाउने पहिलो सहर बनेको छ ।
यूएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा आएर डेडिकेट लाइन बनाइ दिएको हो ।
तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई डेडिकेट लाइनका रुपमा साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ ।
त्यसरी छुट्याइएको लेन बिशेष गरि साइकल यात्रुका लागि मात्रै उपयोग हुने छ । साइकल कुदिरहँदा अन्य सवारी साधान गुड्न वा पार्किङ गर्न पाइदैन ।
राप्ती राजमार्ग बाहेक तुलसीपुरको मुख्य बजारका बिभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ । राजमार्गमा साइकलको डेडिकेट लाइन निर्माण गर्दा सडक डिभिजनबाट अनुमती लिनुपर्ने हुन्छ ।
दाङ साइकल सिटीका उपाध्यक्ष खुमबहादुर न्यौंपानेले पछिल्लो केही बर्ष यता आँफुहरुले निरन्तर स्थानीय सरकारलाई भन्दै आएको कुराले आँशिक रुपमा भएपनि सार्थकता पाएको भन्दै खुसी साटे ।
तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डेकै समयमा तुलसीपुर बजार क्षेत्रमा पाँच किलोमिटर सडकलाई साइकलका लागि डेडिकेट लाइन निर्माण गर्ने सहमति भएको थियो ।
जस अनुसार उपमहानगरपालिकाले थप तीन किलोमिटर सडकमा डेडिकेट लाइन निर्माण गर्नुपर्ने थियो ।
तर, उपमहानगरपालिकाले आँफुसंग बजेट नभएको भन्दै आफ्नो भागमा परेको तीन किलोमिटर डेडिकेट सडक लेन निर्माण भने गरेको छैन ।
स्थानीय सरकारको शैलीबाट साइकलिस्टहरु भने निराश छन् ।
तस्बिर : फरककाेण ।