दाङ,माघ २६ ।
सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका ५ नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्था बुझेका छन् । सभामुख महराले शनिबार बिहान काठमाडौँंस्थित मेडिसिटी हस्टिपल पुगी सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइते सांसदको उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई गम्भीर चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियुमा राखेर उपचार भइरहेको महरालाई जानकारी गराएका थिए । भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । साथै महराले परिवार र आफन्तहरुलाई नआत्तिन आग्रह पनि गरेका छन् ।
सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी हस्पिटल पुगेकी थिइन् । दाङ क्षेत्र नं. ३ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । बाँकेबाट हेलिकप्टरमार्फत राजधानी पु¥याइएका उनको हाल मेडिसिटी हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेको छ ।