दाङ,माघ २२ । दाङको तुलसीपुरमा एक अज्ञात समुहले सोमवार बेलुका अन्धाधुन्द गोली फायर गर्दै हिडेको छ ।
उक्त समुहले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म बेलुकी पख अन्धाधुन्द गोली फायर गर्दै हिडेको थियो ।
बेलुका ८ बजेदेखि झन्डै साढे ८ बजेसम्म तुलसीपुर–सुकौरा सडक खण्डको विभिन्न स्थानमा गोली फायर गर्दा स्थानीय सर्वसाधारण नागरिक भने त्रसिद बनेका थिए ।
उक्त समुहले गोलौरादेखि फाइरिङ सुरु गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित नविन कवर र टिकाराम केसीको घरको आसपमा झन्डै आधा दर्जन जति फाइरिङ गरेको संबन्धित व्यक्तिहरुले जानकारी दिएका छन् । एक अज्ञात समुहले तुलसीपुर–घोराही सडक खण्डमा अन्दाधुन्द फायरिङ गर्दै हिडेको भन्ने जानकारी पाएपछि प्रहरीपनि खोजीमा निस्किएको थियो ।
ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय तुलसीपुर बाट राति नै प्रहरी खोजीमा निस्किएको भएपनि कसैलाई फेला पार्न भने सकेन ।
प्रहरीको एक टोली मंगलवार विहानैदेखि अनुसन्धानमा खटिएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकरी दिए ।
तर्साउन फायरिङ भएको आशंका
तुलसीपुर १० नविन कवर खोलामा बालुवा गिट्टीको ठेक्का लिएर काम गर्ने गर्छन । स्थानीय सरकारले खोल्ने टेन्डर अनुसार खोला जन्य बस्तुको व्यापार गर्दै आएका कवरले आफुलाई तर्साउने मानसिकता बोकेकाहरुले अन्धाधुन्द फायर गर्दै हिडेको आशंका व्यक्त गरे ।
मंगलवार तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर अन्तरगत पर्ने बलुवा गिट्टीको लागि प्रमुख स्रोत मानिने ग्वारखोला, पाखुखोला र बबई नदी लगाएमा बालुवा गिट्टीको टेन्डर आह्वान गरेको छ । मध्यान्ह १२ बजेसम्म टेन्डर आह्वानको समय तोकिएको छ भने मंगलवार नै टेन्डरसमेत सार्वजनिक गर्ने उपमहानरपालिकाले जानकारी दिएको छ । खोलाको टेन्डरमा आफ्नो हिस्सा खोज्ने र हैकम कायम गर्न चाहाने अर्कौ कुनै समुहले त्रसाउन तथा धम्काउने उदेश्यका साथ अन्दाधुन्द फायरिङ गरेको हुन सक्ने आशंका प्रहरीले पनि गरेको छ ।