२०८१ असार ९ गते शनिवार

अपहरणपछि महिलाको हत्या गरेको आरोपमा तीनजना पक्राउ

रुकुम पूर्व,बैशाख २८ । एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा रुकुम पूर्वमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बहालवाला जनप्रतिनिधि, पालिका तह निर्वाचनका उम्मेदवार र एक जना माओवादी कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रहरीका अनुसार रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि बैशाख १९ गते तकसेरा गाउँमा चुनाव प्रचार प्रसारका क्रममा सामान्य झडप भएको र स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई अपहरण गरेर लगेको आरोप छ ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाको कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए। स्थानीयका अनुसार जुनमाया एमाले समर्थक कार्यकर्ता थिए ।

पालिका तह चुनावको प्रचार प्रसारको क्रममा माओवादी कार्यकर्ता, नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुथा उत्तरगंगामा पटक पटक विवाद र झडपसमेत हुँदै आएको छ ।

मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि लिइएको छ । जिल्लामा असुरक्षित र सत्ताको प्रभावमा रिपोर्ट तथ्य नआउने भन्दै मृतकका आफन्तले नेपालगञ्ज वा बुटवल लिन माग गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई रुकुमकोट अदालतबाट दश दिनको म्याद गरेर अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले भने उक्त आरोप झुटो रहेको बताएको छ । जिल्ला इन्चार्ज तेजबहादुर ओलीले बुधबार एक विज्ञप्ति जारी गर्दै पालिका चुनावलाई प्रभाव पार्ने र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले आफ्ना नेता कार्यकर्तामाथि झुटो आरोप लगाएको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *