दाङ, माघ १९ । नेपालले पहिलो पटक टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज र पहिलो अन्तराष्ट्रिय एकदिवसिय सिरिज जित्दै क्रिकेटको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमै नयाँ इतिहास रच्न सफल भएको छ ।
युएई विरूद्धको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज र पहिलो अन्तराष्ट्रिय एकदिवसिय सिरिज जित्दै इतिहास रचेको छ। आइतवारको खेलमा नेपाले सिरिज २–१ले जित्न सफल भएको हो ।
यो जित संगै नेपालले पहिलो पटक अन्तराष्ट्रिय एक दिवसीय टी ट्वान्टी सिरिज जित्न सफल भएको छ । रोमाञ्चक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी २० अन्तराष्ट्रिय शृङ्खला जितेको हो ।
दुबईस्थित आइसीसी एकेडेमी ओभलमा आइतवार वर्षा भएपछि १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाउँदै नेपालले १०४ रन बनाएको थियो।
नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २ ÷ २ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १÷ १ विकेट लिन सफल भएका थिए ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाएका थिए । १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हानेका थिए । त्यस्तै ११ बल खेलेका सुनदीप जोराले ३ छक्कासहित २८ रन बनाएका थिए ।
पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । भण्डारी १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भएका थिए । करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए।
उता आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाए भने गुलाम सब्बेरले २५ रन जोडेका थिए । मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन् । युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २÷२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १÷१ विकेट लिएका थिए । यो जित संगै नेपालको परिचय विश्वभरी फैलिएको छ ।