दाङ, वैशाख २७ । रोल्पामा नेकपा माओबादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई नेपाली काँग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
जिल्लाको गंगादेब गाउँपालिका वडा नम्बर ५ मा माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका कमल बुढा र मानबहादुर बुढा घाइते भएका छन् । उनीहरुको ढाडमा खुकरी प्रहारबाट गहिरो घाउ लागेको छ ।
उनीहरुको उपचार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
चुनाव प्रचारप्रसारका क्रममा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुईनेटा भन्ने स्थानमा जम्काभेट भएपछि माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्ने कुरा खुलेको डिएसपी घिमिरेले जानकारी दिए ।
माओवादी कार्यकर्ता राजेन्द्र परियार लगायतको समूहले खुकुरी प्रहार गरेको भन्ने खुलेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गंगादेव गाँउपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बीचमा चुनाबी तालमेल छ। त्यहाँ कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाले पनि गाउँपालिकामा उम्मेदवारी दिएका छन् ।