दाङ, वैशाख १९ । रुकुम पश्चिममा नेकपा माओबादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परि नेपाली काँग्रेसका एक वडाध्यक्ष पदका उम्मेदवारसहितका नेता कार्यकर्ता घाइते भएका छन् ।
जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारचन्द्रबहादुर बुढासहित वडा सदस्यका उम्मेदवार रणबहादुर बोहरा, कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन् । घाइतेहरुको टाउको,ढाड तथा शरिरका बिभिन्न भागमा चोट लागेको छ । घाइतेहरुलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारी भइरहेको छ ।
वाइसियलका कार्यकर्ताहरु अजय चदरा,मनोज चदरा, गोपाल बिक, हरि चदारा, तिलक चदरासहितको समहुले काँग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको स्रोतले जानकारी दिएको छ ।
घटना आइतबार बिहान ९ बजेतिरको हो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी बिष्णुप्रसाद सोतीले माओवादी कार्यकर्ताको आक्रमणबाट काँग्रेसका वडाध्यक्ष लगाएतका काँग्रेस कार्यकर्तामाथि आक्रमण भएको भन्ने खवर आएको जानकारी दिए ।
डिएसपी सोतीका अनुसार काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनु पूर्व माओबादीका कार्यकर्ता थिए । यही बीचमा काँग्रेस प्रबेश गरेपछि उनले वडाध्यक्षको टिकट पाएको र भोट माग्न गएको समयमा राजनीतिक रिसीबिका कारण आक्रमण भएको प्रहरीले जनाएको छ ।