२०८१ बैशाख ७ गते शुक्रवार

नेपालद्वारा युएई ४ विकेटले पराजित

माघ १८ । नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले १–१ को बराबरी गरेको छ ।

यूएईले नेपाललाई दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो । मल्ल सात रनमा ६.१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।

यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।

यूएईका अनुभवी ब्याट्सम्यानहरु सस्तैमा समेटिए । साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् । नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्दैछ ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *