तुलसीपुर,चैत २४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. २ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
वडामा रहेका बालश्रमिकहरुको व्यवस्थापन भएसगै बिहिवार तुलसीपुर –२ तकियापुरमा एक कार्यक्रमको आयोजना गरि वडालाई जिल्लाको दोश्रो बालश्रममुक्त वडाको रुपमा घोषणा गरिएको हो ।
बालश्रम नगरौ,नगराऔ,समृद्ध समाज निमार्ण गरौं भन्ने मुल नाराका साथ वडालाई लुम्बिनी प्रदेशका सदस्य शंकर गिरी र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बालश्रम मुक्त वडा घोषणा गरेका हुन ।
अहिले वडामा बालश्रमिकको अवस्था ९० प्रतिशत भन्दा कम भैसकेकाले वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष राजु आचार्यले जानकारी दिए ।
त्यस अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सदस्य शंकर गिरीले बालश्रम मुक्त वडा घोषणा गरेर तुलसीपुरले नमुना योग्य काम गरेको भन्दै प्रसंसा गरे ।
‘दुई वर्ष अघि वडा नं. ६ ले सुरु गरेको यो अभियानको सिको गर्दै अहिले वडा नं. २ ले पनि बालश्रम मुक्त वडा घोषणा गर्न सफल भएको छ,गिरीले भने,‘–आमागी दिनमा तुलसीपुर उपमहानगरलाई नै बालश्रम मुक्त नगर बनाउन सिंगो नगरवासी लाग्न आवश्यक छ ।’
उनले पछिल्लो समय स्थानीय सरकारले केही राम्रा कामहरु गरेको बताए ।
फरक प्रसंगमा सदस्य गिरीले स्मार्ट सिटि भित्र बेतिथि मौलाएको भन्दै आक्रोस पोखे । उनले स्थानीय सरकार आर्थिक रुपमा इमान्दार हुन नसक्दा सामाजिक बिकृति बढेको तर्क गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले यो अभियानलाई वडा न.६ र २ वडामा मात्र सिमित नराखि उपमहानगरपालिकाका सबै वडामा पु–याउने आश्वासन दिए ।
उनले निर्वाचित भएर आएसगै २०७४ सालदेखि नै तुलसीपुरलाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाउने उद्देश्य अनुरुप काम गर्दै आएको र छिट्टै उपमहानगरलाई बालश्रम मुक्त नगर घोषणा गर्ने पनि बताए ।
नगर बाल अधिकार समितिका संयोजक नवराज लामिछानेले असल समाज निमार्ण गर्ने लक्ष्य अनुरुप यो अभियानले सार्थकता पाएको धारणा राखे ।
वडालाई बालश्रम मुक्त घोषणा गरिए पनि यस पछि पनि बालश्रमिक हुन सक्ने भन्दै यसलाई अभियानका रुपमा लिनुपर्ने उनले बताए ।
पछिल्लो समय सबै टोल तथा वडाबासीहरुमा चेतना बृद्धि भईसकेको बताउँदै उनले वडालाई बालश्रममुक्त घोषणा गरिसकेकाकाले वडामा बालश्रमिक भेटिएमा कानुन अनुसार कारवाहीलाई अघि बढाउने प्रष्ट पारे ।
उक्त कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा,प्रमुख प्रसासकिय अधिकृत मोहन पौडेल,नेपाली कांग्रेसका भिमबहादुर वलि,नेकपा समाजवादीका माधव गिरी,नेकपा एमालेका टिकाराम कंडेल,रेडक्रसका ढुण्डीराज न्यौपाने लगाएतले बालश्रम अन्त्यको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसअवसरमना विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बालश्रम वडा घोषणा गर्न सहयोग पु¥याउने विभिन्न सघंसस्था,व्यक्तीहरुलाई सम्मन एवं प्रसंसा पत्र वितरण गरिएको थियो ।
