सुर्खेत,चैत २३ । कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।
अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरे ।
साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उनले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरे ।