२०८१ असोज ५ गते शनिवार

गढवा गाउँपालिकामा आठवटा कानून पारित


शिवराज पन्थी
देउखुरी, १५ माघ ।

गढवा गाउँपालिकाको गत माघ ९ गतेका दिन उद्घाटन भएको चौथो गाउँसभाको बन्दसत्रले विभिन्न आठवटा कानूनहरु पारित गर्दै मंगलबार गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको विकास र समृद्धिलाई अग्रगति दिन विभिन्न आठवटा कानूनहरुसमेत पारित गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

जसमध्ये गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका–२०७५,आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनको कार्यविधि–२०७५, तालिम ब्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७५, विपद् ब्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७५, फोहरमैला ब्यवस्थापन कार्यविधि–२०७५, सामुदायिक स्वास्थ्य इकाई स्थापना, सञ्चालन तथा ब्यवस्थापन कार्यविधि–२०७५, अपांगता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धी कार्यविधि–२०७५ र टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि–२०७५ गरी आठवटा विधेयकहरु पारित भएको गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले प्रस्तुत गरेको चौमासिक कार्यप्रगति विवरण पनि सभाले अनुमोदन तथा पारित गरेको छ ।

यसका साथै गढवा गाउँपालिकाको गत तेस्रो गाउँसभाबाट अनुमोदन भएको एकीकृत सम्पत्ति करको दायरा पनि घटाएर न्यून मालपोत दर कायम गरिएको, ब्यवसायिक फर्म, ब्यवसायिक साझेदारी फर्म, सहकारी संस्था र लेखापढी ब्यवसायीको फर्म दर्ता शुल्कः पनि विगतको भन्दा घटाइएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडास्तरीय पूर्वाधार विकासको कतिपय बजेट पनि रकमान्तर गरी संशोधन गरिएको छ भने लघु उद्यमभित्र पर्ने उद्यमहरुको दर्ता, एकल महिला तथा अपांगता भएका ब्यक्तिहरु प्रोप्राइटर रहने गरी दर्ता भएका उद्यमहरुको निःशुल्क दर्ता गर्ने र महिला उद्यमीको नाममा दर्ता हुने उद्यममा २० प्रतिशत मात्र दर्ता शुल्क लिने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।

त्यसका साथै नदीजन्य तथा खनिजजन्य उत्खनन् तथा इट्टा भट्टा, प्रशोधन गर्ने उद्योगहरु जस्तैः बालुवा प्रशोधन वासिङ प्लान्ट, सिमेण्ट तथा क्रसर उद्योगहरुका हकमा गाउँपालिकाले प्रदूषण शुल्क लिने प्रावधानसमेत पारित गरेको बन्दसत्र पछि प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । यसैगरी छाडा पशु चौपाया नियन्त्रण तथा ब्यवस्थापनका लागि गढवा–६ स्थित कन्दरा मन्दिरको क्षेत्रभित्र ब्यवस्थापन गर्ने गरी निर्णय भएको बताइएको छ ।

राष्ट्रिय धुनको सम्मानसँगै गाउँपालिकाका अध्यक्ष सहज यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विषय प्रवेश गराएका थिए भने योजना तथा बजेट संशोधन र करसम्बन्धी संशोधन प्रस्ताव उपाध्यक्ष शान्ती चौधरीले प्रस्तुत गरेकी थिइन् । यसैगरी छाडा पशुचौपायाको ब्यवस्थापनसम्बन्धी प्रस्ताव अध्यक्ष सहजराम यादवले प्रस्तुत गरेका थिए । आठवटा कानूनका विधेयक प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *