२०८३ जेष्ठ २६ गते मङ्गलवार

भर्जिन भाइरल रोड

‘ब्रेकर नलेखिदिनुहोला, टिप्परले थाहापाए भर्जिनिटी रहने छैन हामीले टिप्परलार्इ स्वीकारगर्नु नै गलत थियो यहांका राजनेताहरुले संसदमा गर्वसाथ भन्ने छन्, हाम्रो जिल्लामा आधा दर्जन त सिमेन्ट उद्योग मात्रै छन्’

दाङ, चैत १६ । अंकल सडक किन भाइरल हुन्छन् र ? रविको प्रश्न भुइमा खस्न नपाउंदै दुधरासको एउटा चियापशलमा राकेशले जवाफ दिए, सडक कालो र चिल्लो भएर । अर्थात भर्खरै कालोपत्रे भएका सडक भाइरल हुन्छन् । त्यहि भएर नारायणपुरबाट हापुर गाउँमा जाने कालोपत्रे सडक भाइरल बनेको थियो । त्यसबाहेक खास केही छैन…।

हो, भाइरल भएका धेरै भएको छैन । भाइरल रोड भन्दाभन्दै भाइरल भएको रहेछ । त्यो सडक भाइरल हुनका लागि न त्यहां काठमाडौंका जस्ता आकाशे पुल, न दिल्लीका जस्ता फ्लाइओभर, न चाइनाका जस्ता समुद्री सडक । तर पनि दंगालीका लागि कालोपत्रे सडक भाइरल बन्ने रहेछन् ।

दैनिकजसो घोराही–तुलसीपुर यात्रा गर्ने हामी मोटरसाइकलमा फरक बाटो पहिल्याउंदै घोराही–हापुर–रक्षाचौर सडक पछ्यायौं । शंकर ब्रो को टोली गत आइतवार त्यही सडक खण्डको जितपुरमा थियो । अघिल्लो बर्ष नारायणपुरको भाइरल रोडमा भेटिएको सो टोलिसंग एउटा ह्याण्ड क्यामेरा पनि छ, (लेन्स मिलाउने) । उनीहरु टिकटकको सुटिङमा थिए ।

फाइल तस्विर

साथमा केही युवतीहरु पनि । चारवटा वाइक रोकिएका थिए, सडक छेउमै । सडक किनारामै शालका ठूला ठूला रुखको छाँया । चराहरुको चिरविरले चैतको उखर्माउलो गर्मिलाई धपाइरहेको थियो । त्यहाँ पुगिसकेका थिए, पानीपुरी र चट्पटेका ठेला व्यावसायी ।‘हामी चारलेनबाट विस्थापित भएर यहां भर्जिन सडकमा आएका हौं र यहां व्यापार अली राम्रो चलेको छ’, एक मोवाइल चाट पशलेले भने ।

उनको ठेलामा मुन्सी मोवाइल चाट लेखिएको थियो । किन ? भर्जिन सडक भन्नु भा हो, यसलाई ? प्रश्न अन्त्य नहुँदै उनले जबाफ दिइ हाले – ‘यो सडकलाई अझै सम्म टिप्परले बलात्कार गरेका छैनन्, नत्र हाम्रो व्यापार यहां पनि चल्न सक्दैनथ्यो ।’

उनी गफिंदै गए । सुरुमा उनको ठेला व्यापार घोराहीको विपी चोकमा थियो । त्यहांबाट नगर प्रहरीले खेदेर तुलसीपुर चोक पु¥यायो । तुलसीपुर चोकमा पनि लुक्दै व्यापार गर्दैगर्दा दक्षिण विद्युत कार्यालय सम्म झरे । त्यहांबाट पनि धपाएपछि फेरि तुलसीपुर चोकमै पुगेको उनले बताए ।

उनी सुनाइरहे, तुलसीपुर चोक सुरुमा त धेरै धुलाम्मे थिएन । तर, जव चारलेन सडक बन्ने हल्ला चल्यो, सडक वेवारीसे जस्तै भयो । कहिले दक्षिणपट्टी मात्रै कालोपत्रे, कहिले उत्तरपट्टी मात्रै कालोपत्रे, धुलोले चाट बेच्नै दिएन । त्यसैले त्यहांबाट विस्थापित भएर यहां आएका हौं ।

उनी रोकिएनन् । अव यो सडक पनि टिप्परले सुइको पाए भने यसको भर्जिनिटी पनि रहने छैन । हामी फेरि यो सडकमा पनि बस्न टिक्न सक्ने छैनौं । चारलेनबाट खेदिएका हामी फेरि यो भर्जिन सडकबाट पनि खेदिने छौं । यहां पनि हाम्रो पानी पुरी विक्ने छैन । त्यहि भएर धेरै नलेखिदिनुहोला भाइरल भाइरल भनेर…।

हामी अलि अगाडि पुग्यौं । बाटो भर्खरै कालोपत्रेको क्रममा रहेछ । घोराहीबाट करिव १३ किमी भन्दा बढी कालोपत्रे भएको हाम्रो वाइकको रिडिङले देखाइरहेको थियो ।

खासमा त्यो घोराही–हापुर–रक्षाचौरको आधा खण्ड पनि थिएन । तैपनि सडक भाइरल जस्तै थियो । यात्राका लागि भन्दा सुटिङका लागि …।

फाइल तस्विर

हो, पछिल्लो डेढ दशक दाङले राम्रो कालोपत्रे सडक देखेको छैन । त्यसैले त यहां कालोपत्रे सडक पनि भाइरल बनिदिन्छन्, विचरा टिकटके…।

स्थानीय तहको दोस्रो निर्वाचन आइसकेको छ । हाम्रो पालिकामा यति किलोमिटर बाटो कालोपत्रे भनेर दश पालिकाले दावी गर्ने छन् । तर खासमा खाल्टो नपरेको लगातार एक किमी सडक दाङमा पाउन सकिने छैन ।घोराहीबाट सुरु भएर रक्षाचौर सम्म पुरै कालोपत्रे सडक दाङबासीले देख्न पाउने छैनन् सायद । रक्षाचौरसम्म कालोपत्रे भैसक्दा घोराहीदेखी हापुर सम्मको कालोपत्रे पुरै भत्किसकेको हुने छ । किनकी, सडकले टिप्परको बलात्कार वहनगर्न सक्ने छैन ।

लमही–घोराही–तुलसीपुर सडक कति गुणस्तरिय थियो, अचेल बनिरहेका सडकका तुलनामा । तर, जव टिप्पर प्रवेश भयो, सडक छियाछिया बन्ने प्रबृत्ति हावी भयो ।

कालोपत्रे होइन, आरसिसीले पनि थामेन । लमही–घोराहीका घुम्तिमा सडक विभागले आरसिसी ढलान गरेर पनि सडक जोगाइ राख्न सकेन । घोराही–होलेरी सडक कति चांडै भत्कियो भन्नु दुर्भाग्य हुने छ । किनभने त्यो सडक कालोपत्रे गर्दानै टिप्परको भार थेग्ने क्षमताको थिएन ।

अहिले छियाछिया भएको छ , घोराही होलेरी सडक । सायद घोराही—मुर्कुटी सडक पनि यही स्तरमा कालोपत्रे गर्नु व्यर्थ हुने । किनकी हस्तान्तरण नहुंदै कालोपत्रे सडक भर्जिन रहने छैन ।

‘अमिलिया–तुलसीपुर सडकको गुणस्तर पनि हामीले देखिसकेका छौं, पुरै सडक कालोपत्रे हुन सायद असम्भव हुने छ’,– त्रिसिदेश्वरी राप्ती यातायात व्यवसायी प्रालिका अध्यक्ष शुरेश हमालले अमिलियाका घुम्तिमा अघिल्लो साता भनेका थिए । यताबाट बन्दै जानेछ, अनि भन्ज्याङ सम्म कालोपत्रे पुग्दा अमिलियाबाट फेरि भत्कन सुरु गर्ने छ। किनकी यो सडकले पनि टिप्परको भार थाम्ने हैसियत राख्दैन, हमालले भनेका थिए ।

विद्युत आलोपालोलाई लोडसेडिङ भन्छन् । सडक आलोपालो चल्नेलाइ के भन्छन् के लेखौं । तुलसीपुर– कपुरकोट सडक पनि अहिले कालोपत्रे भनिनु अन्याय हुने छ । किनकी यो सडकमा पनि कहिकतै एक सय मिटर पनि सहि सडक पाउन निकै मुस्किल छ ।

यातायात सेवामा लोडसेडिङ भइरहेको छ । सडक चौडा गर्ने नाममा सडकमा निरन्तर यातायात सेवा पनि छैन । यति चांडै कालोपत्रे गुमाउनुको प्रमुख कारण थियो, टिप्परको आमन्त्रण ।

‘हामीले सडकको स्तरिय पूर्वाधार विनै टिप्पर स्वीकार्नु नै गलत थियो । तर स्वीकारी सक्यौं, अव समस्या झनै विकराल बन्ने छ’, अघिल्लो बर्षातमा घोराही–होलेरी सडक अनुगमनका क्रममा तात्कालिन प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुङवाङले यही भनेका थिए ।’

एकै जिल्लामा आधादर्जन जति सिमेन्ट उद्योग स्वीकार्ने हामी कति उद्योग प्रेमी दंगालीहरु । कति भाग्यमानी राजनेताहरु ? सडकको अवस्था जेहोस् । टरिगाउँ विमानस्थल गौचरनमा किन परिणत नहोस ? हाम्रा नेताहरुले संसदमा गौरवका साथ भन्ने छन्, ‘हाम्रो जिल्लामा आधा दर्जन त सिमेन्ट उद्योगहरु मात्रै छन् भनेर…।’

यति धेरै भार बोक्ने टिप्परलाई हाल नेपालमा चल्तिमा आएको (रिमिक्स, अक्सफाल) आरसिसी कुनैपनि प्रविधिले थाम्ने छैन । तर राज्यको कुनै दिर्घकालिन योजनानै छैन । स्तरिय सडक निर्माणका सन्दर्भमा । चारइन्च मोटाइको कालोपत्रे सडकमा २७ टन भारी बोकेका टिप्पर कुदिरहंदा कति दिन टिक्ला कालोपत्रे ? यही कारण भाइरल बनिरहेका छन्, कालोपत्रे सडकहरु । चाटको पैसा लिने वेला साहुजीले भनेका थिए, भर्जिन सडक भनेर नलेखीदिनुहोला किनकि, टिप्परले थाहा पाए यो सडक भर्जिन रहने छैन…।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *