
तुलसीपुर, चैत ८ । तुलसीपुरबाट अपहरणमा परेका भनिएका एक युवक दुई दिनपछि अमेलिया क्षेत्रको जंगलमा फेला परेका छन् ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भइ हाल तुलसीपुर ४ मा परिवारसहित बस्दै आएका २४ बर्षीय जनक सापकोटा चैत ६ गते साढे ४ बजेदेखि सम्पर्क बिहिन थिए ।
सापकोटा अपहरणमा परेको आशंका उनकी श्रीमति र परिवारका सदस्यलाई थियो । खोजी गर्ने क्रममा सापकोटा सोमबार बिहान ८ बजेतिर अमेलिया क्षेत्रको जंगलको सडक छेउमा फेला परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
सापकोटा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँ स्थित हरि रिजालको ड्रागन फ्रुटको फार्मका कर्मचारी हुन । सापकोटाको श्रीमति र छोरीको साथमा रिजालकै फार्ममा बस्दै आएका थिए । रिजालको हस्पिटल, कलेज लगाएत बिभिन्न क्षेत्रमा लगानी छ ।
सापकोटाकी श्रीमति र रिजालको मोवाइलमा उनी अपहरणमा परेको भन्दै ५० लाख सम्म माग गर्दै म्यासेजहरु पठाइएका थिए ।
तर, प्रारम्भीक अनुसन्धानबाट सापकोटाको समेत मिलेमतोमा साहु रिजाल संग पैंशा झार्न अपहरणको नाटक गरेको जस्तो देखिएको प्रहरी अधिकारी बताउँछन् ।
तुलसीपुरकै एक पसलमा सापकोटाले नयाँ सिमकार्ड किनेको तथ्य फेला परेको र त्यही नयाँ सीमकार्ड बाट आँफै वा अरु केही ब्यक्तिको सहयोगमा बार्गैनिङ गर्दै म्यासेज गरेको खुल्न आएको प्रहरी एक प्रहरी अधिकारीले बताए ।
थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट सापकोटालाई मंगलबार जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ । थप अनुसन्धान पछि बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
