दाङ, चैत ३ । निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको छ । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले आचार संहिता जारी गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा चुनावी प्रचारको सीमा तय गरिएको छ ।
जस्मा राजनीतिक दल वा उम्मेदवारहरुको निर्वाचन चिह्न अंकित ज्याकेट, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री लगाउन पाइने छैन ।
त्यस्ता सामाग्री उत्पादन, प्रयोग, बिक्री वितरण गर्न र प्रदर्शन गर्न वा गराउनपनि पाइने छैन ।
आचारसंहिता लागू भएपछि सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने काम गर्न पाइने छैन ।
त्यस्तै सम्बन्धित ब्यक्तिको स्वीकृत नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्नपनि रोक लगाइएको छ ।
त्यस्तै जेष्ठ नागरिक, महिला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या गर्ने गरी चुनावी प्रचार गर्न रोक लगाइएको छ ।
त्यस्तै चुनावी प्रचारमा १८ वर्ष भन्दा मुनिकालाई प्रयोग गर्न पनि पाइने छैन । निषेध गरिएको समय र स्थानमा सभा, जुलुसहरु गर्न नपाइने, सार्वजनिक आवागमनमा अवरोध पुर्याउन प्रतिबन्ध लगाएको छ ।
आचारसंहिता लागू भएपछि सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने जस्ता काम गर्न रोक लगाइएको छ ।
कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टीका टिप्पणी गर्न वा गराउन रोक लगाइको छ ।
कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन प्रतिबन्ध लगाइएको छ ।
आचारसंहिता अनुसार २५ हजार रूपंैयाभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत कारोबार गर्नुपर्ने नियम बनाइएको छ ।
उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने, उमेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, त्यस्ता तोकिएका पदाधिकारीको विवरण उमेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने कुरा उल्लेख गरिएको छ ।
उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा आफ्नो नाममा बेरुजु र पेस्की बेरुजु नरहेको घोषणा गर्नुपर्ने ब्यबस्था गरिएको छ । हाल पदमा बहाल कार्यपालिका तथा कार्यपालिकाका पदाधिकारीले उम्मेदवार बनेमा मनोनयन दर्ता अघि पदबाट राजीनामा दिएको हुनुपर्ने उल्लेख छ ।
आचारसंहिता लागु भएपछि उम्मेदवारी घोषणा र मतदान भएर मतपरिणाम नआउँदासम्म मतसर्वेक्षण वा परिमाण घोषणा गर्न नपाइने प्रावधान पनि राखिएको छ ।
केन्द्र र प्रदेश सरकारका मन्त्रीहरु मात्रै होइन, स्थानीय चुनावमा स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने ब्यबस्था गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा गैरसरकारी, अर्धसरकारी र विकास संस्था, निजी संस्थाका पदाधिकारी र कर्मचारीहरुले पनि चुनावी प्रचारमा भाग लिन पाउँदैनन् ।
गैरसरकारी तथा निजी संस्थाले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन पाइदैन ।
३० वैशाखमा हुने चुनावका लागि १० वैशाखमा उम्मेदवारी दर्ता हुने छ । दाबी, विरोध र फिर्ताको समय दिएर १५ वैशाखसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । २८ वैशाखसम्म उम्मेदवारले चुनावी प्रचार गर्न पाउनेछन ।