काठमाण्डौ,फागुन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गरेका छन ।
बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गरेका हुन ।
मृत्युपश्चातको अङ्ग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए ।
मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्नेजति सबैले मिर्गौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उनको भनाइ छ ।
