तुलसीपुर,फागुन २० । स्थानीय तहमा स्वच्छ खानेपानीको कार्यक्रम संचालन गर्नका लागि तुलसीपुरमा अभिमुखिकरण कार्यक्रम भएको छ ।
नेपाल नगरपालिका सघंको आयोजनामा शुक्रवार तुलसीपुरमा स्थानीय तह खानेपानी,सरसफाई तथा स्वच्छता क्षेत्रगत सुशासन सुदृढीकरण सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।
त्यस अवसरमा नेपाल नगरपालिका सघंका कार्यक्रम व्यवस्थापक उमाशंकर यादवले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि ऐन, वास सूचना व्यवस्थापन प्रणालीको अभाव, सरसफाईका चुनौति, वित्तिय व्यवस्थापन, पूर्वाधार विकास, संस्थागत व्यवस्थाहरु, योजना, नियमन, नीति निर्माणका विषयमा जानकारी गराए ।
उनले सरकारले खानेपानी,सरसफाई तथा स्वच्छताका विषयमा स्थानीय सरकारलाई ऐन÷कानुन बनाउने एकल अधिकार दिएपनि हालसम्म कुनैपनि पालिकाले कानुन बनाउन नसकेको बताए ।
नेपालको सविंधानको ३५(४) मा स्वच्छ खानेपानी र सरसफाइलाई नागरिकको मौलिक हकका रुपमा राखिएकाले यसमा सबै सचेत हुनुपर्ने उनले बताए ।
दिगो बिकासका लक्ष्यमा सन २०३० सम्ममा सबैको निम्ति सुरक्षित र किफायती खान सकिने खानेपानीको सर्व ब्यापी मान्यता अनुसार लक्ष्य लिइएको जानकारी दिए ।
खानेपानी सम्बन्धी एकल नितिको खाँचो छ,उनले भने,अब त्यो निति बनाएर खानेपानीको योजनालाई मुलधारमा ल्याउन आवश्यक छ ।
कार्यक्रममा नेपाल नगरपालिका संघका निर्देशक कलानिधी देवकोटाले खानेपानी र सरसफाईको अवस्था सुधार्न स्थानीय तहलाई सुझाब दिए ।
सघंका विषयबिज्ञ चन्द्र भक्त बिष्टले मन्त्रालयमा खानेपानीको कार्यविधि बनेको भएपनि कार्यान्वयन हुन नसकेको बताए ।
उनले पहिलो चरणमा २५ पालिकामा स्थानिय तहमा स्वच्छ खानेपानीे कार्यक्रम सञ्चालन सुरु गर्न लागेको बताए।
स्थानीय तहमा रहेका खानेपानीको क्षमता बृद्धि,नितिहरु निमार्ण,स्थापना,सुचना व्यवस्थापन गर्ने मुख्य उद्देश्यले नेपाल नगरपालिका सघंले यो कार्यक्रम सुरु गरेको बताए ।
नगरपालिकाले जनशक्ती सहित खानेपानी सरसफाई तथा स्वच्छता शाखा वा इकाईको छुट्टै स्थापना गर्ने तुलसीपुर उपमहानगरपालिकालाई आग्रह गरे ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख एब नगरपालिका सघका कोषाध्यक्ष घनश्याम पाण्डेले खानेपानीलाई व्यवस्थीत गर्नका लागि खानेपानी तथा सरसफाई ऐनको मस्यौदा तयार भएको बताए । हामी स्वायत्त हौं भन्ने कतिपय खानेपानी समितिहरुको अडानका कारण ऐन पारित हुन नसकेको हो,तर ९० प्रतिशत घरमा खानेपानी पुगिसकेको छ,पाण्डेले दाबी गरे ।
खानेपानीको दिगो व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई योजना आबश्यक रहेको बताए ।
साथै उनले योजनाका साथ उपभोक्तालाई सहज रुपमा पानी पुर्याउने उद्देश्यले अघि बढ्न खानेपानी समितिलाइ आग्रह पनि गरे ।
त्यस अबसरमा तुलसीपुर उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सुशासन समितिका संयोजक श्याम डाँगी, आर्थिक समितिका संयोजक माधव वली, तुलसीपुर खानेपानी संस्थाका उपाध्यष सिताराम शर्मा,सचिव सेवकराम भण्डारी लगाएतले तुलसीपुर उपमहानगरपालिकाले खानेपानीलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले बिकासे कामहरु भन्दा महत्वपूर्ण, पिउने पानी भएकाले खानेपानी योजनामा ठूलो लगानी गर्नुपर्ने र खानेपानी उपभोक्ता समितिलाइ उचित तालिमको ब्यबस्था गरिदिनु पर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका सरसफाई समितिका संयोजक ओमपी न्यौपानेको स्वागत मन्तब्रीबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए ।