वुटवल, माघ ९। नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ समितिले प्रदेशका अगुवा पत्रकारहरुसँग छलफल गरेको छ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका विधेयक, सरकारले निर्माण गरेको सञ्चार नीति, बनाउँदै गरेका विधेयक तथा कानूनहरुका सम्बन्धमा आधिकारीका धारणा तय गर्न सो छलफल गरेको हो ।
छलफल पश्चात ति ऐन, कानून, नीति र विधेयकमा कुनकुन धारा, उपधारा तथा बुँदाहरु स्वतन्त्र प्र्रेस माथि अंकुश लाग्न सक्ने छन ? र कुन कुन कुरा सञ्याउन जरुरी छ ? भन्ने कुराको निक्र्यौल गरी सुझाव समेत पेश गर्ने गरी दुईवटा सुझाव समिति गठन गरेको छ । हाल प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा एक समिति र छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा अर्को समिति गठन गरिएको छ ।
प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा अर्जुन गिरी, सुदिप गौतम, दिनेश पाण्डे, भोषराज पाण्डे सदस्य रहेका छन भने छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा बनेको समितिमा दिपक ज्ञवाली, प्रताप रेग्मी, झलक गैरे र नवराज कंवर सदस्य रहेका छन ।
समितिले आवश्यक सुझाव तयार गरी नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ मा बुझाउने र सो कुरा सम्बन्धित मन्त्रालय, सरकार र प्रदेश सभा सदस्य र सम्बन्धित समितिसँग आवश्यक परामर्श गरी शंसोधनका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ का अध्यक्ष मौसम रोकाले जानकारी दिए ।
यसैगरी आजै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को नेतृत्वमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई भेटीएको छ । सो अवसरमा प्रदेशमा बन्न थालेका सञ्चार सम्बन्धि ऐन, कानून तथा विधेयकहरुमा भएका केही कुरा स्वतन्त्र प्रेस विरोधी भएको भन्दै सो सम्बन्धमा पहल गरिदिन अनुरोध गरिएको थियो । सो अवसरमा बोल्दै सभामुख घर्तीले यस विषयमा सरकारसँग आवश्यक समन्वय गरी अगाडि बढ्न टोलीलाई आग्रह गर्दै आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । सो अवसरमा पत्रकारहरु बालकृष्ण चापागाई, विनोद पहाडि, दिपक ज्ञवाली, दिनेश पाण्डे लगाएतले आफ्ना धारणा राखेका थिए । छलफल र भेटघाटको अध्यक्षता प्रदेश ५ का अध्यक्ष मौसम रोकाले गरेका थिए भने सञ्चालन बरिष्ठ उपाध्यक्ष भरत केसीले गरेका थिए ।