
दाङ, फागुन १८ । सात राउन्ड गोली लाडे गरिएको स्वचालित पेस्तोलसहित तीन युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का २८ बर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज १८ का २२ बर्षीय सुशान्त केसी र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं। ३२ बर्षीय द्दारिका उपाध्याय रहेका छन् ।
डुडुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती नदीको पुल नजिक गोली चलेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यो सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोलीले नेपालगन्जदेखि राप्ती नदीको पुल तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर चेकजाँच गर्ने क्रममा मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोलमा लोडेड ७ थान गोलीसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले मंंगलबार राति ९ बजे उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सुशान्त केसीले चलाइ रहेको गाडीको चालक सिटको बायाँ तर्फको सिटकभर भित्र सात राउन्ड गोली लोड भएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली, एक थान खुँडा र दूई थान नकसमेत प्रहरीले बरामद भएको बाँके प्रहरीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । अनुसन्धानबाट खुँडा सुशान्तको रहेको र थप दुई थान नकपनि दीपेन्द्रकै रहेको भन्ने खुलेको न्यौंपानेले बताए ।

डिएसपी न्यौंपानेका अनुसार दीपेन्द्र अधिकारीका यसअघि बाँके प्रहरीमा बिभिन्न शिर्षकमा आठ वटा मुद्दा रहेका छन् । दीपेन्द्र यसअघिका बिभिन्न मुद्दाहरुमा पक्राउ पछि धेरौटीमा छुटेको भएपनि २०७७ साल मंसिर ११ गते नेपालगन्ज २ का सहर्ष बिक्रम शाहलाई बागेश्वरी मन्दिर नजिक खुकुरी प्रहार गरेपछि शाहले दिएको ज्यान मुद्दाका फरार प्रतिबादी समेत हुन ।
यसअघि दीपेन्द्रले ज्यान मुद्दा, जवरजस्ती करणी, लागु औषध, चोरी लगताए बिभिन्न मुद्दा खेपेका थिए । ती अधिकाँस मुद्दामा दीपेन्द्र धरौटीमा छुटेका थिए । प्रारम्भीक सोधपुछका क्रममा तीन महिला पहिले त्यो पेस्तोल भारतबाट किनेर ल्याएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।
‘तीन महिना पहिले दीपेन्द्रले नै भारतको लखनउवाट अली भन्ने ब्यक्तिसंग ५० हजारमा उक्त पेस्तोल किनेर ल्याएको भनेर बयान गरेका छन्,’ डिएसपी न्यौंपानेले भने– ‘ राप्ती नदी किनारमा दुई राउन्ड फायर भएको देखिन्छ।’ शिबरात्रिको दिन दीपेन्द्र र सुशान्त बाँकेको पार्वतीपुर मन्दिर, बर्दिया बाँसगढीको शिब मन्दिरमा गएर फर्किएर आउँदा बाँकेको पुष्पलाल चोकमा द्धारिका पौडेलसंग भेट भएपछि पौडेलको राप्ती नदी पारीको जग्गा हेर्न भनेर बेलुकी नेपालगन्जबाट निस्किएको प्रहरीले जानकारी दिएको छ ।
त्यही क्रममा दीपेन्द्रले पेस्तोलमा गोली लोड गरि दुई राउन्ड फायर गरेको खुल्न आएको डिएसपी न्यौंपानेले बताए । मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को उपदफा १३० अनुसार ७ बर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्राबधान रहेको छ ।
