
तुलसीपुर, फागुन १४ । पाँच वटा रेडपाण्डाको छालासहित तीन जना ब्यक्ति पक्राउ परेका छन् । दुर्लभ वन्य जन्तु रेडपाण्डाको छालासहित रोल्पाका तीन जना पक्राउ परेका हुन ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ बर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० बर्षीय रुपक खड्का र सुनछहरी गाउँपालिका वडा नं। ७ का १९ बर्षीय रामकुमार पुन मगर रहेका छन् ।
शुक्रबार बेलुकी ७ बजेतिर जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँचका क्रममा तीन जना पाँच थान रेडपाण्डाको छालासहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
हिमाली जिल्लाहरुबाट प्रतिबन्धित र दुर्लभ वन्य जन्तुको ओखेटोपहारको अबैध रुपमा निकासी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा चेकजाँचमा खटिएको टोलीले उनीहरुलाई पाँच थान रेडपाण्डाको छालासहित पक्राउ गर्न सफल भएको एसपी काफ्लेले जानकारी दिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय घोराही , इलाका प्रहरी कार्यालय भालुवाङबाट गएको संयुक्त गस्ति टोलीले चेकजाँचका क्रममा तीन जनालाई पाँच थान रेडपाण्डाको छालासहित पक्राउ गरेको थिाये ।
हिमाली जिल्लाहरुबाट ल्याएको ती रेडपाण्डका छालाहरु दाङ हुँदै काठमाडौं लैजान खोजेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
