२०८१ फाल्गुन ७ गते बुधवार

एक कक्षामा पाँच लाख र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, माघ ८। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।”

उनले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताए ।

उनले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताए। सो अवसरमा उनले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इं र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गरे । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नपा क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अङ्गे्रजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताए ।

 

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *