२०८१ साउन ९ गते बुधवार

उद्यमीलाई कच्चा पदार्थको अभाव,बजारीकरणमा झनै समस्या

तुलसीपुर,फागुन ७ । कच्चा पदार्थको अभावका कारण उत्पादनलाई वृद्धि गर्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका र ग्रिन फाउन्डेशन नेपाल दाङको संयुक्त आयोजनामा शनिवार तुलसीपुरमा भएको दिगो बन व्यवस्थापन र बन तथा कृषि उद्यमशिलता विषयक सञ्चार गोष्ठीमा बोल्ने बक्ताहरुले स्थानीय स्तरमा कच्चा पदार्थ नहुँदा बाहिरबाट महंगोमा खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

उनीहरुले बाहिरबाट ल्याइएको कच्चा पदार्थबाट उत्पादन भएको सामाग्रीहरु बजारीकरणमा झनै समस्या हुने गरेको गुनासो गरे ।

दिगो बन व्यवस्थापनको धेरै चर्चाभएपनि,सामुदायिक वनहरुमा प्रसस्त वन उद्यमका सम्भावनाको उपयोग गर्न नसकेको बताउँदै उनीहरुले यसका लागी राज्यले उचित निति÷नियम बनाएर स्थानीय स्तरमै कच्चा पदार्थ उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा सुर्यद्धय ढकिया उद्यमी महिला समुहका अध्यक्ष शल्मा चौधरीले घरधन्दा र कृर्षि काममा मात्र सिमित हुने थारु महिलाहरुको पछिल्लो समय दिनचर्या फेरिएको बताइन ।

उनले परम्परागत सिपलाई प्रयोग गरेर महिलाहरु हस्तकला सामाग्रीहरु जस्तै ः विभिन्न थरिका ढकिया, टोकरी, दानी, मुढा निमार्णमा जुटेपनि कच्चा पदार्थ अभावका कारण सोचे अनुरुप अघि बढ्न नसकेको बताइन ।

‘पहिले घरधन्दा, कृषि लगाएत काममा मात्र सिमित रहने महिलाहरु उद्यम गर्न थालेका छौँ,’ चौधरीले भनिन्, ‘तर उद्यम गर्न चाहाने महिलाहरुका लागि कच्चा पदार्थको अभाव छ ।

यदि सामाग्री भैहाले पनि ती सामाग्रीको बजार व्यवस्थापन सोचेअनुरुप छैन ।

हामीले उत्पादन गरेका सामान बजारमा प्रतिस्पर्धामा लैजान सकेका छैनौ । यसतर्फ स्थानीय तहले बिषेश ध्यान दिन जरुरी छ ।’

उनले ग्रिन फाउन्डेशन नेपालको सहयोगमा ०७८ कात्तिक महिनामा तुलसीपुर उपमहानगरपालिमा समुह दर्ता गरेको र उद्यमी बन्न चाहानेहरुका लागि उचित तालिमको व्यवस्था गरिदिन आग्रह गरिन ।

सिप सिकेपछि पुरुष सरह महिलाहरु पनि आयआर्जनमा जोडिन सक्ने बताउँदै चौधरीले स्थानीय स्तरमै कच्चा पदार्थ उत्पादनमा राज्य गम्भिर बन्नुपर्नेमा जोड दिइन ।

उद्यमशिलतालाई प्रकृति, संस्कृती र समृद्धिसगं जोड्न आवश्यक ः पाण्डे

ग्रिन फाउन्डेशन नेपाल दाङका कोषाध्यक्ष खिमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बनको दिगो विकास र उद्यमशिलतालाई प्रकृति,संस्कृती र समृद्धिसगं जोड्न आवश्यक रहेको बताए ।

जिल्लामा उत्पादन भएका सामाग्रीहरुको व्यवस्थापनका लागि ग्रिन फाउन्डेशन नेपाल सहकार्य गर्न तयार रहेको बताए ।

उनले पछिल्लो समय हरेक व्यक्तीलाई उद्यमशिल बनाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थानिय सरकार संचालन ऐन २०७४ अन्र्तगत स्थानिय वन ऐन बनाएर कार्यन्वयनमा ल्याएको बताए ।

नेपालको सविधानको अनुसुची (९) मा जंगललाई साझा सुचीमा राखेको हुदा संघ,प्रदेश हुदै स्थानिय तहलाई वनको अधिकार दिएको उनको भनाई छ ।

देशभरका स्थानिय पालिका मध्ये तुलसीपुर उपमहानगरपालिकाले पहिलो पटक स्थानिय वन ऐन बनाएर कार्यन्वयन गरेको पाण्डेले दावी गरे ।

कार्यक्रममा संस्कृतविद् असोक थारुले दाङमा हस्तकलाको पुर्नजागृत हुन थालेको बताए ।

‘कुनै समय नेपालमा बनेका हस्तकला सामाग्रीहरु अन्तराष्ट्रिय बजारमा धेरै माग हुन्थ्यो,’ चौधरीले भने,‘तर बीचमा कच्चा पदार्थ अभावका कारण निर्यात रोकियो । अब भने फेरी पुरानै शैलीमा उद्यमीहरु जागृत हुन थालेका छन ।’

परम्परागत सांस्कृतिक उत्पादन राष्ट्रिय बजारमा मात्र नभई अन्तराष्ट्रिय बजारमा समेत माग धेरै हुने भन्दै चौधरीले सिपलाई व्यवसायीकरण गर्दै लैजानुपर्ने बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उद्यम शाखा प्रमुख रेवा रावतले सामाग्री उत्पादन गर्दा बजार माग,श्रोत साधन,त्यसको गुणस्तर बुझ्ेर मात्र उत्पादन गर्नुपर्ने बताए ।

महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु उपमहानगरपालिकाले कोशेलीघरमा राखेर बिक्रि बितरण गर्ने बताउँदै रावतले इच्छुक उद्यमीहरुले उपमहानगरमा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी,तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख यसोदा वलि,पत्रकार खेमराज रिजाल, पकर्रे कालिका कृषि वन समुहका उपाध्यक्ष तुलबहादुर वली लगाएतले स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुले बजार मुल्य पाउन नसक्दा,त्यसै सडेर जानुपर्ने अवस्था रहेकोले यस तर्फ स्थानीय तह गम्भिर बन्नुपर्ने सुझाव दिए ।

उक्त कार्यक्रमको सहजीकरण तेजराज वलीले गरेका थिए । सो अवसरमा बबई गाउँपालिका स्थानिय वन कार्यक्रम संयोजक सिर्जना शर्माले बन सम्बन्धी बनको प्रयोग तथा सदुपयोगका बारेमा दिगो वन व्यवस्थापनको अवधारणा प्रस्तुत गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *