२०८३ भाद्र १३ गते शनिवार

दाङमा फोहोरबाट ग्याँस उत्पादन सुरू

दाङ,माघ २६ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो ।

कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । प्लान्टमा गल्ने फोहोर कम राखिएकाले कम ग्याँस उत्पादन भएको र केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गरिने ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाबाट दैनिक उठ्ने (गल्ने) फोहोरबाट ग्याँस उत्पदान हुने कम्पनीले जानकारी दिएको छ । प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्‍याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।

उनका अनुसार पहिलो चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनबाटै ग्याँस पुर्‍याउने भनेर सर्भे गरिएको छ । जसअनरुप फोहोरबाट उत्पादीत ग्याँस सर्रादेखि नारायणपुरसम्म पुर्‍याइने भनिएको छ ।

अहिले भने ग्याँस उत्पादन सुरु गरिए पनि पाइपलाइनबाट घर घरमा ग्याँस पुर्‍याउन सकिएको छैन । पाइपलाइन जडान कार्यमा ढिलाइ हुँदा यसले पूर्णता पाउन नसकेको हो । भारतबाट आवश्यक पर्ने पाइप आए लगतै घर–घरमा पाइपलाइनबाट ग्याँस पुर्‍याउने कामले अघि बढ्ने म्यारनेजर श्रेष्ठले बताए । कोरोना महामारीका कारण निर्माण कार्य केही ढिला भएको उनको भनाइ छ ।

फोहोरबाट ग्याँस उत्पादन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा प्लान्ट निर्माणका लागि २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।

सुरुमा २० करोड लगानी लाग्ने भनिए पनि पाइपमार्फत घरघरसम्म ग्याँस पुर्‍याउने भएपछि करिब २२ करोड लाग्ने प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार २० वर्ष पछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

२० वर्षका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । पालिकाले फोहोरबाट ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने बताएको छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *