२०८३ भाद्र ११ गते बिहिवार

जस्ले एकै साथ कालिज, कुखुरा र तरकारी खेती सुरु गरे …

तस्विर ः फरककोण ।

घोराही, पुस १९ । रुकुमका एक युवाले दाङमा आएर कृषिमा लाखौं लगानी गरेका छन् । उनले फरक÷फरक स्थानमा कालिज तथा कुखुरा पालनदेखि तरकारी खेतीपनि संगसंगै गर्दै आएका छन् ।

पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्काले करिब ४० लाखको लगानीमा घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाहीमा सयौं कालिज पालेका छन् । उनले कालिजसँगै घोराही – १६ मा झन्डै १५ कठ्ठा जमिन भाडामा लिएर प्यारेन्ट कुखुरा पालेका छन् । त्यहाँ कुखुराका लोकल जातहरुदेखि कडकनाथ, टर्कीपनि पालेको खड्काले जानकारी दिए ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१८ मा ६ बिगाहा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । सबै क्षेत्रमा गरि करिब १ करोड २० लाख जति लगानी पुगेको खड्काले जानकारी दिए ।

कर्जाहीस्थित उनको एमके मल्टिप्रपोज प्रालिमा बिक्रिका लागि तयारी अवस्थाका १५ सय जति कालिजहरु छन् । दुई बिगाहा जग्गा दश बर्षका लागि लिजमा लिएर कालिज, कुखुरा पालन सुरु गरेका उनले कर्जाहीको भाडा मात्रै बार्षिक एक लाख २० हजार तिर्ने गरेको जानकारी दिए ।

उनले कालिज पालनदेखि बच्चा उत्पादनपनि गर्दै आएका छन । एक बर्षअघि कालिजपालनमा लागेका उनले बच्चा उत्पादनपनि गर्दै आएका छन् ।
त्यस्तै उनले अब कालिजकै परिकार पाइने कालिज रेष्टुरेष्ट सञ्चालन गर्ने तयारीमा जुटेको जानकारी दिए ।

त्यस्तो रेष्टुरेष्ट घोराही बजारमा सञ्चालन गर्ने र कालिजको फर्ममा क्याम्प फायरका लागि स्थान बनाउने तयारी गरिरहेका छन् । इच्छुकले रोजेरै आँफै कालिज वा लोकल कुखुरा छोपेर आँफै पकाउँदै तथा पोल्दै खान पाउन भन्ने उदेश्यले क्याम्प फायर सञ्चालन गर्न लागेको खड्काले जानकारी दिए । फर्ममा कालिज भन्दा छुट्टै खोहरु बनाएर लोकल कुखुरा, कडकनाथ, लौकाट, बाख्रापालन पालन पनि गर्दै आएका छन ।


उनले कैलाली, बुटवल र काठमाडौंसम्म माग अनुसार कालिज पठाउने गरेका छन् । सुरुमा एउटा भाले कालिजलाई तीन हजार ३५ सयसम्ममा बिक्रि गरेका भएपनि चाड पर्व सकिएपछिको अवस्थामा २५ सय सम्ममा बिक्रि गर्ने गरेका छन् ।


पोथी भने बेच्दैनन् । बच्चा उत्पादनका लागि पोथी नबेच्ने गरेको उनले जानकारी दिए । पाँच महिनाको अबधिमा १५ लाखसम्मको कालिजहरु बिक्री गरेको उनले बताए । फर्ममा उत्पादन भएका कालिज दाङ जिल्लासहित बुटवल, कैलाली, काठमाडाँैलगायतका ठाउँसम्म पठाउने गरेका छन् ।


कृषि र व्यवस्थापन संकायबाट प्लस टूको पढाई पुरा गरेको बताउने खड्काले त्यसअघि तुलसीपुर तथा रुकुममा समेत एग्रोभेटहरु सञ्चालन गरेका थिए ।

अष्ट्रेलिया जाने तयारी गरेपनि कोरोना महामारीको अवस्थाले जान नपाएका खड्काले अहिले गरे नेपालमै प्रशस्त संभावनाहरु रहेको बताउँछन् ।

कालिज तथा कुखुराको लागि दाना उत्पादन गर्ने मेसिनदेखि बच्चा उत्पादनका लागि ह्याचरी मेसिनपनि राखेर काम गर्दै आएका छन् ।
उनले कालिजका लागि आवश्यक बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीपनि गरेका छन् । कालिजले दानासँगै घास पनि खाने हुँदा यो सिजनमा मुलाका पात, भाजी लगाएत अन्य घाँसपनि दिउँसोमा दिने गरेको खड्काले जानकारी दिए ।

सुरुमा १२ लाख लगानीमा २ हजार कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेका उनले व्यवसाय फष्टाउँदै गएपछि काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै जाने सोच बनेको जानकारी दिए ।
सुरुमा २ हजार बच्चा काठमाडौं, पोखरा, दाङबाट खरिद गरेर कालिज पाल्न थालेको खड्काले बताए । ती मध्य करिब २ सय जति मरेको खड्काले जानकारी दिए ।
कालिजको प्रतिबच्चा ५ सयदेखि ७ सय रुपैंया खरिद गरेको ल्याएको बताउने खड्काले अहिले भने आँफैले उत्पादन गरेका कालिजका १ दिनका बच्चा २ देखि ३ सय रुपैंयामा बेच्ने गरेका छन् ।
खड्काका अनुसार कालिजको बच्चालाई १५ दिनसम्म हुर्काउन तथा जोगाउन सबै भन्दा कठिन हुने गर्छ । त्यो समयमा निश्चित तापक्रम मेनटेन नगरे मर्ने हुँदा आँफु रातदिन खटेर जोगाएको उनले बताए ।
तर, बयष्क कालिज भने चिसो मौसममा बस्न रुचाउने उनको बुझाई छ ।

कालिजलाई पुस माघको मौसम उचित रहेको उनको बुझाई छ । गर्मी मौसमबाट जोगाउन उनले फर्म भित्रै त्रिपालहरुको छाया बस्न मिल्ने स–साना टहराहरु पनि निर्माण गरेका छन् ।

कालिज, कुखुराको प्यारेन्ट, तरकारी खेती संगसंगै गर्दा उनले ६ जना सहयोगी पनि राखेको जानकारी दिए ।
बिभिन्न ब्यबसाय संगसंगै सुरु गरेका २३ बर्षीय खड्का १ वर्षको अवधिमा आइपुग्दा निकै उत्साहित छन् ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *