संघीय संसदका सभामुख कृष्णबहादुर महराले अब दाङको विमान सेवा अवरुद्ध नहुने बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले टरिगाउँ विमान स्थलमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा महराले त्यस्तो दाबी गरेका हुन ।
अस्थायी इन्धन डिपोको व्यवस्था भइ सकेको हुँदा विमान सेवा नियमित हुने उनको दाबी थियो । टरिगाउँ एयरपोर्टका लागि एउटा रिफ्यूलिङ ट्याङ्कको व्यवस्था भइसकेको र त्यो केही दिनमै दाङ आइपुग्ने महराले जानकारी दिए । स्थायी इन्धन डिपो निर्माणको प्रक्रिया समेत सुरु हुने महराले बताए ।
नेपाल वायु सेवा निगमको विमानका साथै पाईलट ट्रेनिङ प्रोजेक्ट चलाउनका लागि समेत तुलसीपुर उपमहानगरपालिकाका मेयरले निवेदन दिएको हुँदा त्यो केही दिनमै स्वीकृत हुने महराले जानकारी दिए ।
दाङको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महराले जिल्लाको विकासको लागि सिंचाई र खानेपानीको उचित प्रवन्ध आवश्यक रहेको बाटो घाटो लगाएत भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा गरिने बताए ।