२०८३ भाद्र १० गते बुधवार

दोस्रो चरणको मतदाता नामावली सङ्कलन हुँदै

काठमाण्डौ,पुस ५ । निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ ।

हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो ।

पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो । दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गरे ।

आइतबारबाट तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मतदाता नामावली दर्ताको दोस्रो चरणको कार्य सुरु भएको छ । निर्वाचन आयोगले भने विशेष अभियान सकिए पनि ‘आउट डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने प्रस्ट्याएको छ । “तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुनेछ,” आयोगका प्रवक्ता पौडेलले बताए ।

कुल ७३ इलाका प्रशासन, ७७ जिल्ला प्रशासन र ७७ जिल्ला निर्वाचन कार्यालय रहेको पालिकामा भने नामावली दर्ताको विशेष अभियान चलाइएको छैन । विशेष अभियान पुस २० गते सकिनेछ । आयोगको मतदाता नामावली दर्ता कार्यक्रम तीनवटै कार्यालयमार्फत जारी रहने आयोगले जनाएको छ ।

आयोगले विशेष अभियानमार्फत करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ । आयोगले १६ वर्ष उमेर पुुगेका नेपाली नागरिक मतदाता नामावली दर्ता अभियानमा विवरण सङ्कलन गर्दैछ तर आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूूरा गर्ने व्यक्ति मात्रै मतदानका लागि योग्य हुनेछन् ।

आयोगको गत चैत्त महिनाको तथ्याङ्क बमोजिम नेपालमा हाल एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम छन् ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *