शंकर केसी, सल्यान, मंसिर ३ । सामुदायिक वन समुदायकै हितका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । सल्यानमा आयोजित सामुदायीक वनको सम्भावना बारे अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन ।
सामुदायिक बन अधिकार सुनिश्चितता कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकामा शुक्रबार आयोजित सामुदायिक बनको सम्भावनाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सामुदायिक वन क्षेत्रमा रहेको प्राकृतिक श्रोत साधनको विकास,संरक्षण, व्यवस्थापन, नियन्त्रण र उपयोग गर्ने अधिकार सुनिश्चित गर्नका लागि आफुहरुले स्थानीय वन ऐन पारित गरेको बताए ।
वन ऐन र यसको व्यवस्थाका बारे अझै मसिनो ढंगबाट वन समूहका पदाधिकारी, उपभोक्ता तथा सरोकारवालाहरुसंग छलफल गरिने सेनले बताए ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्मा, टिएफ नेपालका प्रतिनिधि गंगाराम दाहाल, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका कार्यकारि निर्देशक डा. सिता अर्याल लगाएतले सामुदायिक वन व्यवस्थापनबाट गरिबी घटाउन, लाभान्वित समुदायको जिविकोपार्जनको श्रोत बनाउनका लागि यसको व्यवस्थापन गरिनु आवश्यक रहेकोमा जोड दिएका थिए ।
यस्तै कपुरकोट गाउँपालिकाभित्र रहेका सबै सामुदायीक वन समूहहरुलाई समेट्दै वनमा रहेका कच्चा पदार्थको उपयोगका लागि समिल आवश्यक रहेको भन्दै मिल स्थापनाका लागि पहल थाल्ने बारे छलफल भएको थियो ।
कपुरकोट गाउँपालिकाको समन्वयमा सामुुदायिक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउण्डेशन नेपालद्धारा सञ्चालित सामुुदायीक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्तरगत छलफलको आयोजना गरेको थियो । यो कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकाभित्र रहेका ५३ वटा सामुदायीक वन मध्ये ३२ वटा सामुदायीक वनमा पुगिसकेको सामुुदायीक वन अधिकार सुनिश्चितता परियोजनाकी कपुरकोट गाउँपालिका संयोजक प्रभा रेग्मीले जानकारी दिइन । ३२ वटा सामुदायीक वनमा वनको अधिकार, श्रोत संकलन, नक्सांकन तथा त्यस मध्ये पनि २७ वटामा वन सिमांकन कार्य सम्पन्न भइसककेको उनले बताइन ।
