काठमाडौं, पुस २३ ।
टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। आफूलाई रिहा गर्न भन्दै गरेको माग सर्वोच्चले अस्वीकार गरेको हो।
सोमबार न्यायाधीश ईश्वर खतिवडा र पुरूषोत्तम भण्डारीको इजलासले भनेको छ- मिसिल संलग्न प्राप्त प्रमाणबाट चौधरीले आरोपित कसुर गरेको भनि विश्वास गर्न सकिने पर्याप्त आधार विद्यमान रहेको देखिँदा उनलाई ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि थुनामा राख्ने कैलाली जिल्ला अदालतको आदेश मनासिब देखिदा परिवर्तन गरिरहनु परेन।
चौधरीलाई जिल्ला अदालत कैलालीले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। चौधरीले फागुन १४ गते अदालतमा आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पूर्पक्ष गर्न भन्दै दिएको आदेश खारेज गर्न माग गर्दै चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनको माग सर्वोच्चले अस्वीकार गरेको छ।
एक वर्षअघि भएको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले केही दिनअघि मात्र सांसदको सपथ लिएका थिए। डिल्ली बजार कारागारबाट संसद भवन गएर शपथ लिएपछि उनी त्यही फर्केका थिए।