
तस्बिर – बालकृष्ण पाण्डे
तुलसीपुर, कात्तिक २२ । दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनाका घाइते मध्य एक जना घाइते महिलालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लैजान थालिएको छ ।
दंगिशरण गाउँपालिका वडा नं.२ की ३१ बर्षीया पार्वती वली खत्रीलाई सिंम्रिक हेलिकोप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।
उनको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार संभव नभएपछि घर परिवारले हेलिकोप्टर चार्टर गरि घाइते पार्वतीलाई काठमाडौं लैजान थालेको एक जना आफन्तले फरककोणलाई जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उक्त दुर्घटनाका ११ घाइते मध्य थप दुई जनाको अवस्था गम्भीर छ । ‘तीन जना गम्भीर घाइते हुनुहुन्छ,’ डिएसपी अर्यालले भने ‘ दूई महिला र एक बालकको अवस्था गम्भीर रहेको छ ।’
अन्य दुई घाइतेका आफन्तले पनि हेलिकोप्टर मार्फत काठमाडौं लैजान खोजेपनि रकम अभावले समस्या भइरहेको भन्ने कुरा आएको डिएसपी थापाले बताए ।
दुर्घटनाका घाइते मध्य केहीलाई बाँकेको कोहलपुर रेफर गरिएको छ ।