२०८१ बैशाख ८ गते शनिवार

टरिगाउँ एयरपोर्टमा अस्थायी इन्धन डिपो ल्याइदै

दाङ  पुस २२ । दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको लागि अस्थायी इन्धन डिपो आउने भएको छ । यही महिनादेखि दैनिक विमान सेवा सुरु भएपछि जिल्लाको एकमात्रै विमानस्थलमा अस्थायी इन्धन डिपो ल्याउने निश्चित भएको जानकारी दिइएको छ ।

एयरपोर्टमा डिपो स्थापना गर्नका लागि आवश्यक सामानहरु सहित प्राविधिकहरु दाङ आउने तयारीमा लागेको नेपाल आयल निगमका प्रमुख सुशिल भट्टराईले जानकारी दिए । पुस २४ गतेसम्म इन्धन वोक्ने ट्यांकर र विमानमा तेल भर्ने वाउजर मेसिन टरिगाउँ एयरपोर्टमा आइपुग्ने प्रमुख भट्टराईले बताए । संघीय संसदका सभामुख कृष्णबहादुर महराले यसअघि नै दाङको एकमात्रै टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना नहुँदासम्म काम चलाउनका लागि अस्थायी इन्धन डिपो ल्याउने वचन दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्थायी इन्धन डिपो स्थापनाको लागि आफुले पहल जारी राखेको जानकारी दिए । अस्थायी इन्धन डिपो स्थापना भएसँगै हालको हवाई भाडा घट्ने नगरप्रमुख पाण्डेले जानकारी दिए । ‘ इन्धन उतैबाट बोकेर ल्याउनु पर्दा यात्रु थोरै मात्रै बोक्नुपर्ने बाध्यता छ,’ मेयर पाण्डेले भने ‘ त्यही कारण भाडा महंगो पर्न गएको हो ।’ इन्धन डिपो स्थापना भएसंगै उनले विमान दैनिक दुई पटक आउने गरि व्यवस्था गर्ने योजना सुनाए ।

पछिल्लो समय टरिगाउँ एयरपोर्टको नयाँ टर्मिनल भवन निर्माण गर्नको लागि टेण्डर भइसकेको छ ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *