दाङ, पुस २० । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीस्थित थारु गाउँमा विगत झन्डै विगत एक महिनादेखि गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन् । गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिदै पूजागर्दै आएका स्थानीयले उस्लाई शुद्ध मानिने गाईको दूध र शुद्ध मानिने जलपनि दिदै आएको बताए । हाल सर्प देखिएको यो स्थानमा दुई÷तीन वर्ष अगाडि सम्म थारु समुदायका देवता भूँयारथान रहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार उक्त गोमन सर्प विगत एक महिनादेखि विहान ठिक ९ बज्दा दुलो बाट निस्कने गर्छ र एक घन्टापछि दुलो भित्र छिर्छ अनि फेरि ११ बजेतिर त्यसैगरी निस्केर आधा घन्टा जति घाम तापेर फेरि भित्र पस्छ ।
त्यो गोमन साप ३४ बर्षीया कमला वलीले स्थानीय ५८ बर्षीय सुकबहादुर घर्तीलाई जग्गा बेच्नका लागि बयानापट्टा गरेको दिनदेखि त्यहाँ देखिन थालेको उनीहरुले बताए । ‘उहाँ नाग देवता नै हुनुहुन्छ, नत्र सागको बच्चो र बाघको बच्चो यसरी एकै ठाउँमा कहाँ बस्छ,’ कमला वलीले भनिन् । घर्तीले पनि उक्त सर्पलाई नागकै संज्ञा दिदै सम्मान भाव व्यक्त गरे । ‘मैले अब यहाँ नाग देवताको लागि एउटा मन्दिर निर्माण गर्ने सोच बनाएको छु,’ घर्तीले भने ।
उक्त गोमन सर्प पहिलो पटक मंसिर २७ गते देखेपछि नजिकै घर रहेको ७२ बर्षीय हरिराम चौधरीले त्यसलाई डुमेनी सर्प भन्दै मार्न प्रयास गरेपनि संभव नभएको बताए । ‘मैले त्यो बस्ने दूलोमा ध्वाँरेर (धुँवा बनाएर) मार्न भनि आगो बाल्न खोजेको थिए,तर सकिन,’ चौधरीले भने । उनले यसअघि पनि गत भदौ महिनामा आफुलाई फना फुलाएर डस्न खोज्ने डुमेनी सर्पलाई मारेको जानकारी दिए ।
‘सबैले नाग देवता भन्दै पूजा गर्न थालेका छन्,’ चौधरीले भने ‘म त अलमलमा परेको छु कि यो साप हो कि नाग हो ।’
हेर्नुहोस भिडियो