दाङ,कात्तिक ५ । लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान खेतीमा क्षति पुगेको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो ।
लुम्बिनी प्रदेशमा कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् भने ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् । उनका अनुसार बर्दियामा २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी छ ।
कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । जिल्लामा २७ हजार ४ सय ५५ हेक्टर खेतमा धान काट्न बाँकी छ ।
यसैबिच दाङमा काटेर खेत मै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा क्षति पुगेको छ । दाङमा ४ हजार ३ सय हेक्टर जमिनको धान काट्न बाँकी छ । बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धानमा वर्षाले क्षति पु¥याएको छ । त्यस्तै १० हजार हेक्टर जमिनको धान काट्न बाँकी छ भने १ हजार १ सय हेक्टर जमिनको धान भित्र्याइएको छ ।
रुपन्देहीमा काटेर खेतमा रहेको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । जिल्लामा २० हजार ७ सय ९३ हेक्टर खेतको धान काट्न बाँकी छ ।
प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने ७ सय ८८ हेक्टर खेतको धान काट्न बाँकी छ । नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा वर्षाले क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर खेतको धान काट्न बाँकी छ । रुकुमपूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर खेतको धान डुबानमा परेको छ ।
गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर खेतको धान वर्षाले भिजाएर क्षति पु¥याएको निर्देशनालयले जनाएको छ । पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ । पाल्पामा २ सय ६५ हेक्टर खेतको धान काट्न बाँकी छ ।
रोल्पामा २५ हेक्टर खेतको धान बालीमा क्षति पुगेको छ । त्यस्तै ३५ हेक्टर जमिनमा लगाइएको मकै र १३ हेक्टरमा गरिएको सिमी बालीमा पनि वर्षाले क्षति पु¥याएको छ ।
अर्घाखाँचीमा वर्षाले धान बालीमा धेरै क्षति नपु¥याएको निर्देशनालयले जनाएको छ । वर्षाले धान डुबानमा परेको र भिजेको भए पनि कति क्षति भयो भन्ने यकिन भई नसकेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।