२०८२ चैत्र १ गते आइतवार

डोटी र हुम्लामा गरि बाढी पहिरोबाट १८ जनाको मृत्यु

सुर्खेत, कार्तिक ३ । डोटी र हुम्लामा गरि बाढी पहिरोबाट १८ जनाको मृत्यु भएको छ । डोटीमा १२ जना र हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।


डोटीको जोरायल गाउँपालिका वडा नं. ४ सयगडामा एकै घरका चार जनाको घर झत्किएर मृत्यु भएको छ ।

४२ वर्षीय शेरबहादुर बिकको घर भत्किँदा उनीसहित उनका १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पबित्रा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

त्यस्तै दसैंमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको छ ।

पहिरोले घर पुर्दा सोही ठाउँकै ६२ वर्षीय जोगी सार्की, घाईते ६१ बर्षीया उनकी श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका – ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विक, सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकायाको मृत्यु भएको छ ।

सोमावार रातिको पहिरोले घर पुर्दा सायल गाउँपालिका वडा नं. ६ का १४ वर्षीय सागर कुन्जेडा र उनका ११ वर्षीय भाइ आशिषको मृत्यु भएको छ ।
पहिरो संगै झरेको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको पनि मृत्यु भएको छ ।

हुम्लामा पहिरोले एकै परिवारका ६ जनाको मृत्यु

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।

मंगलबार राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा स्थानीय ७० वर्षीया धनवीरे शाहीको घर पहिरोले पुर्दा उनीसहित छोरी आशा शाही, ज्वाँई कलबहादुर शाही, उनीहरुका तीन छोराहरु १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *