२०८३ असोज २५ गते आइतवार

आज हुलाक दिवस : हुलाकको अस्तित्व सङ्कटमा

काठमाण्डौ,असोज २३ । आज विश्व हुलाक दिवस मनाइँदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइँदै आएको छ ।

हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो ।

तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।

नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।

एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।


हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभइ विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ । हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहलकदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको जानकारले बताएका छन् ।

हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *