धनुषा,असोज २३ । धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् ।
नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेका हुन । घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर थिए सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गरेका थिए । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाइ छ ।
तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
