२०८३ भाद्र ११ गते बिहिवार

सुरु भयो बडा दसैं पर्व ,घरघरमा घटस्थापना

दाङ, असोज २१ । नेपाली हिन्दुहरुको महान पर्व बडा दसैँ बिहीबारदेखि सुरु भएको छ ।


बडादसैँको पहिलो दिन बिहीबार घरघरमा घटस्थापना गरिएको छ । घटस्थापनाको साइत ११ः४६ मिनेटमा उत्तम मानिएको छ । घटस्थापनालाई जमरा रोप्ने दिनपनि भनिन्छ ।


विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिन्छ । पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात जौं रोप्ने गरिन्छ।

जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु मान्ने गरिन्छ । त्यसैले विजया दशमीको दिन उक्त जमरा दुर्गालाई चढाएर मात्रै समृद्धिको प्रतीक पहेँलो जमरा टीका संगै लगाउने गरिन्छ ।
जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गर्ने क्रम बढ्दै गएको छ । घटस्थापना पछि पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गा भगबतीको पूजा सुरु हुने गर्छ ।


धर्मग्रन्थ अनुसार दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वती रहेका हुन्छन् । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।


दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ।


यो बीचमा नौंसम्म दुर्गा पूजा गर्ने गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठपारायण पनि गर्ने गरिन्छ। यो बर्ष विजयादशमीको साइत असोज २९ गते १० ः २ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


बडादसैं पर्व १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाउने प्रचलन परापूर्वक कालदेखि रहँदै आएको छ ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *