रूपन्देही,असोज २० । रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । असोज २२ र २३ गते भित्रै सबै पालिकामा एकसाथ खोप दिइने भएको हो ।
जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको असोज १९ को निर्णय अनुसार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्र अनुसार भेरोसेल खोप दिइने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए ।
दशैँअघि नै सबै पालिकाहरुमा एकैसाथ खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।
यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताए ।
राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।
यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनको भनाई छ । दसैंलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।
