
तुलसीपुर,असोज १३ । चाडपर्वलाई मध्येनजर गर्दै तुलसीपुरमा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।
नजिकिँदै गरेका दशैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजारमा म्याद गुज्रिएका सामानहरू बिक्री वितरण हुने अवस्थालाई ध्यान दिँदै तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा तुलसीपुरका किराना तथा खाद्यन्न पसलहरु अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मसला,बिस्कुट,जिरा,क्रिम,पाउडर ट्याङ्,कफी,तिल,तितौरा लगाएतका सामाग्रीहरु जफत गर्नुका साथै व्यापारी र उपभोक्ताहरुलाई सचेत गराइएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन । उनका अनुसार अनुगमनका क्रममा पसलहरुमा मुल्य सुची राख्न, पसलको नामसहितको साइनबोर्ड राख्न, उपमहानगरपालिकामा अनिवार्य पसल दर्ता गर्ने उपभोक्ताले बुझ्ने गरी मुल्य सुची राख्न र सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको बिक्री वितरण गर्ने गुनासाहरू आउन नदिन दशैँ सुरु हुनु अघि नै बजार अनुगमनलाई तिब्र पारिएको प्रमुख शर्माले बताइन ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सघं,जनप्रतिनिधी,स्थानीय प्रहरी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।