तुलसीपुर, असोज १० । नेपाली काँग्रेस दाङका तत्कालिन क्षेत्रीय सभापति स्वर्गिय वशन्त देवकोटाको योगदानको काँग्रेस नेताहरुले स्मरण गरेका छन् ।
परिवारका सदस्यले आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडरस्थित मानव सेवा आश्रममा बस्दै आएकाहरुका लागि त्यहाँ आयोजना गरेको भोजन तथा फलफूल वितरणको कार्यक्रममा पुगेका काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले स्वर्गिय देवकोटा एक जना अशल संगठक भएको स्मरण गरे ।
स्वर्गिय देवकोटाले निर्माण गरेको संगठन पछिल्लो समय कमजोर बन्न थालेको प्रति चिन्ता ब्यक्त गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले अब त्यस्तै गरि गाँ गाँउ र बस्तिबस्तीमा पुगेर संगठन निर्माण गर्ने संगठकको आवश्यकता खड्किएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले स्वर्गिय देवकोटाले देखाएको बाटोमा हिड्न सके मात्रै काँग्रेस मजबुत र सशक्त बन्ने बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्तीले स्वर्गिय देवकोटालाई आफ्ना राजनीतिक गुरुका रुपमा ब्याख्या गर्दै देवकोटा संगै लागेर आँफूपनि संगठन निर्माणका क्रममा बस्तिबस्ती र घर घरमा पुगेको स्मरण गरे ।
‘ यदी हामीले उहाँ प्रति सच्चा रुपमा सम्मान गर्ने हो भने उहाँले जस्तै गरि निश्वार्थ भावले संगठन निर्माणमा लाग्न जरुरी छ,’ घर्तीले भने ‘ त्यो नै सच्चा उहाँप्रति सच्चा सम्मान तथा श्रद्धाञ्जली हुने छ ।’
कार्यक्रममा परिवारका तर्फबाट वडा क्षेत्रीय प्रतिनिधि तथा स्वर्गिय देवकोटाका भाइ दोर्ण देवकोटाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
स्वर्गिय देवकोटाका छोरा राघब देवकोटाले त्यसक्रममा मानव सेवा आश्रममा बस्दै आएका ३५ जनालाई आइतबारको साँझ र बिहानको खाना तथा फलफूलको ब्यबस्था गरिएको जानकारी दिए ।