२०७८ कार्तिक १ गते सोमवार

वडा अधिवेशन सकिएका जिल्लामा भोलि गाउँ/नगर अधिवेशन गर्दै कांग्रेस

काठमाडौं,असोज ८ । नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा शनिबार गाउँरनगर अधिवेशन गर्ने भएको छ।

पहिलो चरणमा ५७ र दोस्रो चरणमा ७ गरी कूल ६४ जिल्लामा कांग्रेसले वडा अधिवेशन गरेको थियो। बाँकी १३ जिल्लामा भने वडा अधिवेशन कहिले गर्ने भन्ने यकिन भइसकेको छैन।

१३ जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याए पनि नामावली सार्वजनिक भइसकेको छैन। सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको नाम दिएपछि निर्वाचन समितिले पार्टी वेबसाइटमा सूची प्रकाशित गर्ने व्यवस्था छ।

कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो। निर्वाचन अधिकृतहरू पालिकाहरूमा पुगिसकेका छन्।

वडा अधिवेशन सकिए पनि केही जिल्लामा भने असोज ११ मा गाउँरनगर अधिवेशन हुने भएको छ। ललितपुरमा असोज ११ मा गाउँरनगर अधिवेशन गर्ने तयारी छ।

पालिका अधिवेशनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मतदाता हुन्छन्। कांग्रेसले हिमाली २१ जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दसैंअगाडि नै हिमाली जिल्लामा जिल्ला अधिवेशन गरिने बताए।

जिल्ला अधिवेशन हुनुअगाडि पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि हुनेछन्। पूर्वनिर्धारित तालिकाअनुसार असोज १८ मा जिल्ला अधिवेशन हुन लागेको हो।

हिमाली भेगमा हिउँ पर्ने र चिसो हुने भएकोले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागिएको हो। पहाड र तराई क्षेत्रमा भने दसैंलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ।

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ। तर तल्ला तहका अधिवेशन समयमै नभएकोले केन्द्रीय महाधिवेशन कार्यतालिका पनि सर्न सक्ने सम्भावना छ।

बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महाधिवेशन केही पर सार्ने बारेमा प्रसंग उठे पनि कुनै निर्णय भने भएको थिएन।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *