काठमाण्डौ,असोज ७ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई विश्वास गर्ने हो भने आज बिहीवार मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्ने हो ।
हिजो पार्टी स्थायी समिति बैठकमा प्रचण्डले बिहीवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका थिए । तर प्रचण्डले भनेजस्तो आज मन्त्रिपरिषद्ले पूर्णता पाउने कुनै सङ्केत देखिएको छैन।
हिजो बेलुकी बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अरु दलहरुलाई मन्त्रीको सूची दिन भनेका थिए।
तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा टुङ्गो लागेपछि मात्रै नाम दिने बताएका थिए भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम दिन नसकिने पुरानै अडान दोहोर्याएका छन ।
गठबन्धन दलहरुको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री देउवाले हिजो परराष्ट्रमन्त्रीमा आफू निकट नेता डाक्टर नारायण खड्कालाई नियुक्त गर्नुभएको छ । मन्त्री नियुक्त गर्दा एकलौटी गरेको भन्दै पार्टी भित्रैबाट देउवाको आलोचना भइरहेको छ ।
कांग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीलाई पाँच मन्त्री र एक राज्यमन्त्री, जसपालाई चार मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमतिको प्रयास भइरहे पनि अझै कुरा मिलिसकेको छैन ।
देउवा प्रधानमन्त्री बनेको आज ७३ दिन पूरा भएको छ ।