सुरेश श्रेष्ठ,
दाङ, पुष १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विरबहादुर बलायरले काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. ४ दाङले तुलसीपुरमा मंगलबार आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका बलायरले सबै नेता कार्यकर्ता एक भएर अगाडि बढेमा काँग्रेसलाई अर्को निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त हुने दाबी गरे ।
‘गत निर्वाचनको पराजय आन्तरिक घात प्रतिघातको परिनाम हो,’ उनले भने ‘ अब हामी एक ढिक्का भएर अगाडि बढ्न सक्यौं भने कसैले हामीलाई पराजित गर्न सक्ने छैन ।’ उनले पार्टी अनुसाशन ठूलो कुरा भएको उल्लेख गर्दै अब गुट उपगुटमा रमाउने नेताहरुलाई कसैले महत्व दिन नहुने बताए ।
काँग्रेस कमजोर हुँदा देश र जनाताले हार्ने दिन उत्पन्न हुने खतरा औंल्याएका उनले हालको दुई तिहाई बहुमतको कम्यूनिष्टको सरकार त्यसको साक्षी भएको तर्क गरे । हालसम्म मुलकमा भएका परिवर्तन, विकास सबै काँग्रेस कै परिनाम भएको बताएका नेता बलायरले कम्यूनिष्ट सरकारको उपहार चर्कौ कर, भ्रष्टचार, बलात्कार मात्रै भएको आरोप लगाए ।
सरकारको नेतृत्व गर्ने व्यक्ति व्यापारीको घरमा डेरामा बसेको हुँदा भ्रष्टाचारीलाई राज्यले नै मलजल गरिरहेको उनको आरोप छ । ‘डेरामा बसेर घरबेटी संग जोरी खोज्ने नाटक प्रचण्डले गरिरहेका छन्,’ नेता बलायरले भने ‘उहाँको घरवेटीलाई कारवाही हुने कुरै आउँदैन ।’
त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीले नेपालको अन्तरष्ट्रिय रुपमा बेइजेत गरेको दाबी गरे । ‘समेवेदना लेख्नु पर्ने स्थानमा बधाई लेखेर पठाउँदा राष्ट्रको प्रतिष्ठा कहाँ पुग्छ,’ प्रश्न गर्दै बलायरले भने ‘ इज्जत भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिए हुन्छ ।’ हालसालै ईन्डोनेसियामा भएको दुःखद घटनामा राज्यले समवेदना व्यक्त गर्दा हार्दिक बधाई लेखेर पठाउँदा विश्वभरी नै नकारात्मतक सन्देश फैलिएको उनको तर्क थियो ।
‘सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालिगरेको आरोपमा धेरै ब्यक्ति समातेर जेल हालिएको छ,’ नेता बलायरले भने ‘तर,सरकार हाफैले समवेदना दिने र दःुख मनाउने ठाउँमा बधाई दिएर विश्वलाई हँसाएको ।’ उनले यस्तो गर्ने सरकारका प्रमुखलाई जेलसम्म हाल्नु पर्ने तर्क गरे । देशको बेज्जेत गराउनेलाई नेपालीले छोड्न नहुने उनको कथन थियो ।
ओली नेतृत्वको सरकार कुनैपनि हालतमा ५ बर्ष टिक्न नसक्ने दाबी गरेका नेता बलायरले सरकारको यस्तै हर्कत जारी रहे अर्को जनआन्दोलन सुरु हुने बताए ।