२०८१ माघ ९ गते बुधवार

‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने

काठमाडौँ, १७ पुस।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज  आयोजित पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

एन्फा अध्यक्ष शेर्पाले भने, “प्रतियोगिता वैशाख र जेठमा पूर्वाधार भएको प्रदेशमा आयोजना गर्ने गरी तयारी शुरु गरेका छौँ ।” एन्फाले प्रतियोगिताको व्यवस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार लिगमा प्रतिष्पर्धा गर्ने टोलीको नाम, तयारी र प्रायोजक इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।

सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरेका छन । यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत जनाइएको छ । विद्यालय लिगमा ११ टोली छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । सो लिग करीब छ महीना चल्नेछ ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *