
तुलसीपुर,भदौ ३१ । बिहीवार तुलसीपुरमा विपद् जोखिम न्यूनिकरण तथा स्थानीय कार्यमञ्च अभिमुखिकरण सम्बन्धि कार्यक्रम भएको छ ।उपमहानगरपालिकाको आयोजना तथा युएसएआईडीको तयार नेपाल र डिपीनेट नेपालको सहकार्यमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनिकरण गर्न स्थानीय तहमा कार्यमञ्च गठन गरिने जानकारी दिइएको थियो ।
कार्यक्रममा डिपीनेट नेपालका अध्यक्ष सुर्य थापाले विपद्को नीति महत्वपूर्ण हुने भएपनि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐनले सक्रिय भई काम नगरेको गुनासो गरे ।
जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको सचिवालयको भूमिका प्रकोप पूर्व तयारी सञ्जाल रहेको र त्यसले जोखिम नियन्त्रण गर्न समन्वय,सहकार्य, साझेदारी गर्दै आएको भएपनि स्थानीय स्तरमा त्यसको सही रुपमा अभ्यास हुन नसकेको उनले बताए ।
कार्यक्रमलाई सम्बाधेन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले विपद् जोखिम न्यूनिकरणका लागि उपमहानगरपालिकाले दीर्घकालिन रणनीति बनाएर लक्ष्य निर्धारण गरेको बताए ।
विपद्ले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने हुँदा यसको पूर्व तयारीको सदैव खाँचो रहेको बताए ।
‘विपद कहिल्यै पनि सुचना दिएर आउदैन,’ उनले भने,‘त्यसैले यसबाट बच्नका निम्ती सदैब तयारी अवस्थामा बस्न जरुरी छ ।’
जोखिम आइहाले तत्काल राहात,उद्धार र पुर्नस्थापना गर्ने गरी कार्यसम्पादन गरेको मेयरले दाबी गरे ।
तुलसीपुर उपमहानगरपालिका बन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नबराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगरले तयार गरेको स्थानीय कार्यमञ्चको सञ्चालन मार्ग दर्शन २०७७ प्रस्तुत गरिएको थियो।