२०८२ माघ ८ गते बिहिवार

ओखलढुङ्गामा प्रहरीले टिकटक चलाउन नपाउने

ओखलढुङ्गा,भदौ ३१ । ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिुटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोसाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ ।

कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी समसामयिक विषयमा समेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *