दाङ, भदौ ३१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या पछि २५ वर्षीया रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोवाईल फोन गोठमा लुकाएको अवस्थामा फेला पारेको छ ।
भदौ २१ गते एकाबिहानै जिल्लाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङका तेजबहादुर कार्की, उनकी ५८ वर्षीया श्रीमती मनमाया, तेजबहादुरकी ८४ वर्षीया आमा पार्वता, बुहारी २५ वर्षीया रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।
उनीहरूको हत्या आरोपमा तेजबहादुरका भतिज नाता पर्ने लोकबहादुरलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। यसैबीच रञ्जाले प्रयोग गर्ने र हराई रहेको मोवाईल फोन लोकबहादुरका १७ वर्षीय भाइ नरेशले गोठमा लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
रञ्जनाले प्रयोग गर्ने फोन गोठमा लुकाएको अवस्थामा फेला परेपछि प्रहरीले त्यसलाई महत्वपूर्ण उपलब्धि मानेको छ ।
लुकाएको फोन गोठबाट बरामद भएपछि नरेशलाई बुधबार राति प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । प्रहरीले घटनाको प्रत्यक्षदर्शी नरेशपनि भएको भन्ने खुल्न आएको बताएको छ ।
रञ्जनाको फोन घटना लगतैदेखि स्विच अफ भएपनि प्रहरीले त्यसको ब्यापक खोजी गरिरहेको थियो ।
नरेशबारे थप सोधपुछ र अनुसन्धान भइरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख डिआइजी अरूणकुमार बिसीले जानकारी दिए ।